अमेरिकन विद्युतीय सवारी साधन निर्माता कम्पनी ट्रिटन भारतीय बजारमा प्रवेश गर्ने भएको छ।
कम्पनीले भारतमा एभी – एन ४ सेडान गाडी ल्याउन लागेको हो। यो गाडीलाई भारतमा ट्रिटन एन४ नामले ब्राण्डिङ गरिने भारतीय संचार माध्यम जिबिजले जनाएको छ।
कम्पनीले यो गाडीको सुरुवाती मूल्य भारु ३५ लाख निर्धारण समेत गरिसकेको छ।
उक्त गाडी भारतमा ४ वटा भेरिएन्टमा उपलब्ध हुनेछ। यो सेडानमा ७५ किलोवाट आवर र १०० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले ५२३ र ६९६ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।
कम्पनीले भारत इलेक्ट्रोनिक्स सगँ ब्याट्री र इलेक्ट्रिक सिस्टम तयार गर्न करार समेत गरिसकेको ट्रिटन इलेक्ट्रिक भेइकलका सिइओ हिमान्सु बी पटेलले जानकारी दिए। कम्पनीले भारतमा डिलरसिप बढाउने प्लान गरिरहेको उनले बताए।
त्यस्तै अर्को अमेरिकी इलेक्ट्रिक कार कम्पनी टेस्लाले भारतीय बजारमा भित्रने घोषणा गरिसकेको छ।
भारतीय बजारमा २०२१ मा टेस्लाका गाडी भित्राउन लागिएको टेस्लाका सिइओ एलेन मस्कले बताएका छन्।
‘जी बिजनेस’का अनुसार एक ट्विटर प्रयोगकर्ताले टेस्ला भारतमा कहिले ल्याउने भन्ने प्रश्नमा मस्कले जवाफ दिएका हुन्।
‘उनले प्रतिक्षाको लागि धन्यवाद, अर्को वर्ष पक्का भन्ने जवाफ दिएका थिए। कम्पनीले पहिले पनि भारतीय बजारमा आउने प्रयास गरेको थियो तर केही सरकारी नियमको कारण सम्भव हुन सकेन’, जी बिजनेसले लेखेको छ।
मस्कले २०१८मा ट्विट गर्दै केही चुनौतीपूर्ण नियमको कारण भारतीय बजारमा प्रवेश गर्न नसकेको बताएका थिए।