नेपालको ठूलो व्यवसायिक समूहमध्ये शंकर ग्रुप पनि एक हो। शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले विगतदेखि नै दुईपांग्रे, तीनपांग्रे र हेभी इक्युप्मेन्ट लगायत सवारी साधन बिक्री गर्दै आइरहेको छ। भर्खरै मात्र जगदम्बा मोटर्सले मलेसियन गाडी ब्रान्ड प्रोटोन बिक्री सुरु गरेको छ। साेही विषयमा सेतोपाटीकासुधिर भण्डारीले जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक कुमार अग्रवालसँग गरेको कुराकानीको सम्पादित अंशः
जगदम्बा मोटर्सले दुईपांग्रे पछि चार पांग्रे सवारी साधन पनि बेच्न सुरु गरेछ नि?
जगदम्बा मोटर्सको स्थापना कालदेखिकै एउटा भिजन थियो। त्यो हो जगदम्बा मोटर्सलाई अटोमोवाइलको नम्बर एक ब्रान्ड बनाउने।
टिभिएसमा पनि पाँच वर्षमा हामीले एउटा फड्को मारेका छौं। नेपालमा धेरै पुराना ब्रान्ड छ तर नेपालमै 'एसेम्ब्लिङ' गर्ने उद्योगको रुपमा हामी थोरै ब्रान्ड मात्र छौं, जसमा टिभिएस छ। यसले पनि अटोमोवाइलप्रतिको हाम्रो प्रतिवद्धता देखाउँछ।
यो कुरा प्रोटोनमा पनि लागू हुन्छ। प्रोटोन भनेको जगदम्बा मोटर्सको काँधमा एउटा फुलि थपिएको हो। हामी दुईपांग्रे, तीनपांग्रे र हेभी इक्युप्मेन्टमा मात्रै थियौँ। अहिले हामी चार पांग्रेमा पुग्यौँ र आगामी दिनमा अन्य कमर्सियल भेइकलमा पनि जान सक्छौं।
प्रोटोन नै किन रोज्नु भयो?
नेपाललाई प्रोटोन बुझाइरहनु पर्दैन भन्ने कुरा हामीले बुझ्यौँ। र अहिलेको समयमा पुरानो प्रोटोन भन्दा जिली, भाेल्भो जस्ता जाइन्ट कम्पनीहरुसँग मिलेर नयाँ कम्पनीको रुपमा आएको छ।
उत्पादनको स्ट्याबिलिटी, क्वालिटी, फिचर र टेक्नोलोजी हेर्दा यो अर्काे चरणमा छ। त्यस्तै, प्रोटोनको पाइपलाइनका उत्पादन निकै अब्बल छ।
एकपटक नेपालमा आएर टिक्न नसकेको ब्रान्डलाई तपाईंहरुले कसरी अघि बढाउन सक्नुहोला?
हिजोको दिनमा प्रोटोन मलेसियन सरकारले चलाइरहेको कम्पनी थियो। आज भाेल्भो र जिलीजस्ता कम्पनीसँग मिलेर अघि बढेको छ। यसले गर्दा भविष्यमा निकै राम्रा उत्पादन आउने हाम्रो धारणा छ।
प्रोटोन हिजो पनि चलेकै थियो, तर उत्पादन निकै कम थियो। त्यो बेलामा सेडान मोडल मात्रै थियो। आज पनि हामीले सेडानबाटै सार्वजनिक गरेका छौँ। हामीसँग पाइपलाइनमा अरु धेरै गाडीहरु पनि छन्।
जगदम्बा मोटर्सले प्रोटोन ल्याउने भनेको १ वर्ष बढी भयो, धेरै ढिलो गर्नु भयो?
पहिलो कुरा त कोभिडको कारणले केही ढिलो भएको हो। दोस्रो, हामी ब्याकग्राउन्डका कामहरु गरिरहेका थियौँ। पहिले प्रोटोनमा काम गरेका १२/१५ वर्ष पुराना मेकानिकहरुको टिम खडा गरेका छौं।
उनीहरुलाई प्रत्यक्ष रुपमा मलेसियाबाटै तालिम गरायौं, शोरुम अरु ब्रान्डको प्रतिश्पर्धामा बनाएका छौं, कम्पनीका उत्कृष्ट मान्छेहरुलाई मिलाएर टिम तयार पारेका छौं। हामी सेल्सको र नम्बरको पछाडि नलागेर यी सबै गृहकार्य गरेर मात्रै अगाडि बढेका हौँ।
सुरुआती समयमा कतिवटा डिलर र सर्भिस स्टेसन बनाउँदै हुनुहुन्छ?
हामीले काठमाडौंमा एउटा शोरुम र एउटा वर्कसपबाट मात्रै सुरुवात गरेका छौं। अबको २/३ महिनाभित्रै पोखरा, नारायणगढ र बिराटनगरमा बनाउँछौं, त्यसपछि नेपालगञ्ज, धनगढी, बुटवल जाने योजना छ।
तेस्रो चरणमा हामी लाहान, जनकपुर, विरगञ्ज जाने उद्देश्य छ। त्यस्तै २०२१ भित्रै काठमाडौंको १० वटा ठाउँमा शोरुम र सर्भिस स्टेशन राख्ने लक्ष्य छ।
नेपालमा स्थापित ब्रान्डलाई प्रतिश्पर्धा गर्न प्रोटोनलाई सहज होला र?
यो मलेसियन ब्रान्ड भए पनि प्रोटोनले भोल्भो, जिलीसँग मिलेर आफ्नो उत्पादनलाई जुन प्रकारले अपग्रेड गरेको छ, त्यो हिसावले जापानी, कोरियन, यूरोपियन ब्रान्ड भन्दा २० को १९ छैनौं। यो सुरक्षा र प्रविधीको दृष्टिकोणले कम छैनौं।
अहिले प्रोटोनको कुन–कुन मोडल उपलब्ध छ?
अहिले प्रोटोनको सागाबाट सुरु गर्यौं। यो इन्ट्रिलेबल सेडान हो। यसमा अटोमेटिक ट्रान्समिसन र म्यानुअल ट्रान्समिसनमा छ। हामीले अटोम्याटिकको ३९ लाख ५० हजार र म्यानुअल ट्रान्समिसनको ३५ लाख ५० हजार निर्धारण गरेका छौं। आउने दिनमा एसयूभीहरु सार्वजनिक गर्छौं।
यसको इन्जिन र फिचर्सको बारेमा बताइदिनुस् न?
यसमा १३ सय सिसीको इन्जिन छ। त्यस्तै, एयर कन्डिसन, इन्फोटेनमेन्ट सिस्टम, रेयर पार्किङ सेन्सर, अटोम्याटिक विन्डो, एबिएस, इबिडी, ४२० लिटरको बुट स्पेस लगायतका फिचर्स छन्।
अबको लक्ष्य के हो?
अहिले हामीले भर्खर उत्पादन ल्याएका छौं, अध्ययन गर्ने क्रममै छौं। यो इजी कन्जुमर कार होइन। यो प्रिमियम सेग्मेन्टको गाडी हो। हामी सेग्मेन्ट लिडर बन्ने प्रयास त गर्छौं नै।
२०२१ सम्ममा संख्या भन्दा स्थापनामा ध्यान दिने लक्ष्य छ। पहिले नेटवर्क, बिक्रीपछिको सेवा लगायतमा आफूलाई बलियो बनाउँछौं। त्सपछि भनेको शंकर ग्रुप जहाँ छ नम्बर एकमा छ। प्रोटोनसँगको हाम्रो अपेक्षा पनि त्यही हो। तर त्यो रातारात हुने भन्ने चाहिँ होइन।
यसमा वारेन्टी कस्तो छ?
हाम्रो कुनै पनि प्रोडक्टमा पाँच वर्षको वारेन्टी र एक लाख ५० हजारसम्मको वारेन्टी छ। यो अरु कुनै पनि ब्रान्डले दिन सकेका छैनन्।
अहिले गाडी किन्ने सोच बनाइरहेकालाई के भन्न चाहनुहुन्छ?
प्रोटोन शंकर ग्रुपले ल्याएको हो। अहिलेसम्म यो ग्रुपले ग्राहकको चाहना अनुरुप काम गरिरहेको छ। हामी उत्पादनलाई अलपत्र छोड्दैनौँ। अर्को कुरा प्रोटोन अहिले ७० वटा देशमा निर्यात हुन्छ। यो नेपालको बाटो सुहाउँदो गाडी हो। यो सुरक्षित गाडी हो।
बिक्री पछिको सेवा र स्पेयर पार्ट्समा हामी ग्राहकलाई विस्वस्त बनाउँछौं। गाडीमा पैसा खर्च गरिसकेपछि 'भ्यालु फर मनी प्रोडक्ट सागा' हो।