विद्युतीय गाडी कम्पनी टेस्लाका सिइओ एलन मस्क सामाजिक सञ्जालमा निकै चर्चामा पर्ने व्यक्तिमध्ये पर्छन्।
विशेषगरी ट्वीटरमा बढी सक्रिय रहने मस्क धेरैपटक आफ्नो ट्वीटले गर्दा विवादमा पनि आइरहेका हुन्छन्। यस्तो बेला केही व्यक्तिहरु उनको सामाजिक व्यवहार चित्त नबुझेर होस् वा टेस्लाकै उत्पादनमाथि गुनासो राख्न ट्वीटरमा एलन मस्कलाई मेन्सन गर्छन्।
लामो समयसम्म एलन आफैँले ग्राहकको प्रश्न र गुनासोका जवाफ दिदैँ आएका थिए। अब भने यो कामको लागि टेस्लाले नयाँ कर्मचारी नै राख्ने इन्ग्याजेटले बताएको छ।
इन्ग्याजेटका अनुसार कम्पनीले लामो समयसम्म साथ दिने कर्मचारी खोजिरहेको छ, जसले ट्वीटरमा एलन मस्कको नाममा आउने ट्वीट सम्हाल्नुको साथै अन्य काम पनि गर्नुपर्ने हुन्छ।
टेस्लाको उर्जा विशेषज्ञहरुको काम आवश्यकता अनुसार गुनासोहरुको समाधान वा पुन निर्देशन गर्नु र सामाजिक सञ्जालमा सिइओ मस्कमाथि आएका कुरालाई सम्हाल्नु हो।
गत वर्ष कम्पनीले आफ्नो पिआर विभाग बन्द गरेपछि टेस्लाको उर्जा विशेषज्ञहरु नै ब्रान्डको फ्रन्टलाइनमा हुने कम्पनीले सार्वजनिक गरेको रोजगार सूचीमा उल्लेख गरिएको छ।