नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालले कर, भन्सार तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण दिएको छ।
व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा विभिन्न समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा त्यससम्बन्धी विद्यमान प्रणालीहरुबारे जानकारी दिन प्रशिक्षण कार्यक्रम गरिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए।
यो कार्यक्रमले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने मात्र नभई आफ्नो व्यवसाय विस्तार गर्न थप सहज हुने भएकोले यो तालिम दिइएको उनले बताए।
नाडाले यस्ता कार्यक्रम केही वर्षअघि देखि राजधानीमा र प्रदेशस्तरमा सम्पन्न गर्दे आइरहेको दुलालले जानकारी दिए।
उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागकातर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण र नाडाका तर्फबाट सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए।
भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नाडाका कूल ४६ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो।