उपत्यकामा ट्राफिक व्यवस्थापन गर्न १ सय जाना स्काउट परिचालन गरिएको छ। यी स्काउटलाई उपत्यकाका १५ स्थानमा परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित गर्ने लक्ष्य सहित स्काउटका स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
‘एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि सडक प्रयोगकर्ताहरुलाई राहत महसुस हुन्छ स्काउटका स्वयंसेवकले त्यो वातावरण तयार पार्ने मलाई विश्वास छ,’ उनले भने
स्वयंसेवकले जथाभावी बाटो काट्ने, फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नेछन्।
साथै नियम पालना गर्न सन्देश प्रवाह गर्ने कुनै पनि सवारीले ट्राफिक नियम पालना नगरेमा वा जथाभावी फुटपाथ अतिक्रमण गरेको देखेमा नजिकको ट्राफिक प्रहरीलाई जानकारी दिने नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले जानकारी दिए।
स्वयंसेवकहरुले पैदल यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।