काठमाडौंमा थप दुई ठाउँमा ट्राफिक लाइट जडान गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कृष्णपाउरोटी चोक र गैह्रिधारामा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको हो।
महाशाखाले कृष्णपाउरोटी चोकमा प्राईम कमर्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी ट्राफिक लाइट जडान गरेकाे बताएकाे छ।
कृष्णपाउरोटी चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राईम बैंकका एसिसटेन्ट जेनरल मेनेजर अनिता प्रधानले संयुक्त रुपमा उद्धघाटन गरे। त्यस्तै गैह्रिधाराको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र बैंकका सिईओ जनक शर्मा पौडेलले उद्धघाटन गरे।
काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दूर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदैँ आएको एसएसपी भट्टराईले बताए।
‘हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधितर्फ लान प्रयासरत छौं, यसको लागी सडक विभाग बाहेक स्थानीय निकाय, विभिन्न बैंक वित्तिय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आइरहेका छौं,’ उनले भने।
महाशाखाले हालसम्म उपत्यकाको मुख्य–मुख्य ३० वटा चोकहरुमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दूर्घटना न्यूनिकरणको लागी आगामि दिनहरुमा अन्य चोकहरुमा लाइट जडानको लागि विभिन्न निकायसँग समन्वय गर्दै जाने महाशाखाले जनाएको छ।