अबदेखि नेपाल यातायातमा चढ्दा क्यूआर कोड मार्फत भडा तिर्न सकिने भएको छ। यसको लागि नेपाल यातायात र मुक्तीनाथ बैंकबिच सम्झौता भएको हो।
मंगलबार एउटा गाडीबाट क्यूआर कोडको सुरुवात गरिएको नेपाल यातायात एक्सप्रेस प्रालीका अध्यक्ष गोपाल गुरुङले जानकारी दिए।
‘आज उद्घाटन गर्यौ। पहिलो चरणमा २०÷२२ वटा गाडीमा यो प्रविधी जडान गर्छौ र सहचालकहरुलाई पनि यसबारे राम्रोसगँ बुझाउँछौ। त्यसपछि विस्तारै अरु गाडीमा पनि लागू गर्छौ,’ उनले सेतोपाटीसगँ भने।
यसले यात्रु र गाडीका स्टाफ दुबैलाई फाइदा पुग्ने गुरुङको भनाइ छ।
‘हामी डिजिटलाइजेसनमा त जानैपर्छ। यो प्रविधिले खुद्राको समस्या हट्छ। यससँगै कोरोना महामारी जस्तो समयमा क्यासलेस कारोवार हुनु राम्रो कुरा हो,’ उनले भने।
हाल काठमाडौं उपत्यकामा नेपाल यातायातले १ सय ३८ वटा सार्वजनिक बस सञ्चालन गर्दै आइरहेको छ।