दक्षिण कोरियन अटोमोबाइल कम्पनी हुन्डाइ र कियाले एप्पल कार नबनाउने घोषणा गरेको छ।
केही समययता चर्चामा आइरहेको एप्पल कार यी दुई चर्चित अटोमोबाइल कम्पनीले उत्पादन गर्ने हल्ला चलेको थियो।
एप्पल इन्साइडरका अनुसार अब भने हुन्डाइ र कियाले एप्पलसँग कार निर्माणबारे कुनै वार्ता नभएको बताएको छ। सोमबार हुन्डाइले सार्वजनिक रुपमा आइफोन निर्मातासँग यस परियोजनाबारे छलफल नभएको बताएको हो।
हुन्डाइका अनुसार एप्पल कार निर्माण गर्ने हल्ला फैलिएपछि असंख्य कम्पनीहरुले उनीहरुलाई सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार विकास गर्न अनुरोध गर्न थाले। तर, उनीहरु आफैं सुरुको चरणमा रहेको हुनाले त्यस्तो गाडी बनाउने कुनै निर्णय नभएको जवाफ दिइरहेका छन्।
किया कम्पनीले पनि हुन्डाइको सो भनाइलाई समर्थन गरेको छ।
गत जनवरीमा हुन्डाइ र कियाले एप्पल कारका बारेमा एप्पलसँग कुरा भइरहेको जनाएको थियो। त्यो बेला एप्पलले कुनै जवाफ दिएको थिएन।
अहिले भने हुन्डाइ र कियाको आफ्नो भनाइबाट पछि परेका छन्।
दुई कम्पनीले एप्पल कार नबनाउने घोषणा गरेपछि बजारमा यी दुई कम्पनीको सेयर ८.४ प्रतिशत र १४ प्रतिशतले झरेको एप्पल इन्साइडरले बताएको छ।
एप्पल कार उत्पादन गर्न एप्पलले केबल हुन्डाइ र कियालाई मात्र लक्षित गरेको थिएन। एप्पलले अन्य छ वटा जापानीज अटोमोबाइल कम्पनीसँग पनि एप्पल कारबारे छलफल गरेको रिर्पोटको भनाइ छ।
यता सन् २०२४ सम्म हुन्डाइले कियासँगको सहकार्यमा अमेरिकामा आफ्नो कारखाना सञ्चालन गर्ने अनुमान गरिएको छ। जहाँ कम्पनीले एक लाख वटा गाडी उत्पादन गर्ने विश्वास छ।