उपाए सिटी कार्गोले रोजगारीको अवसर सृजना गर्न अनुदान सहयोग पाएको छ।
बेलायत सरकारको लगानी रहेको ‘स्किल फर इम्प्लोयमेन्ट प्रोग्राम नेपाल’ले उपाए सिटी कार्गोलाई महिला, विदेशबाट फर्किएका कामदार र आर्थिक रुपमा पिछडिएका समूहका लागि स्वरोजगारको अवसर प्रदान गर्ने विषयमा अनुबन्धन गरेको हो।
उपाय सिटी कार्गोले व्यवसाय र व्यक्तिहरुलाई प्रविधिको माध्यमबाट ड्राइभर पार्टनरहरुसँग जोड्न र सहज तरिकाबाट काठमाडौं उपत्यकालगायत देशका ठूला सहरहरुमा ढुवानी व्यवस्थापन गर्दै आइरहेको छ।
कम्पनीले आफ्नो सेवालाई बुटवल, भैरहवा र पोखरामा विस्तार गरिसकेको छ। आगामी महिनाभित्र अन्य सहरहरुमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीकाे भनाइ छ।
त्यसैगरी कम्पनीले डिभी एक्सिलस कम्पनीको अनलाइन प्लेटफर्म खेती एपसँगको सहकार्यमा कृषिमा आधारित ‘लजिष्टिक’ सेवा सुरुवात गरिसकेको छ।
त्यस्तै दुईपाङ्ग्रे सवारीको माध्यमबाट समेत लजिष्टिक सेवा प्रदान गरी २६०० भन्दा बढी ड्राइभर पार्टनर र किसानहरुलाई रोजगारीको अवसर दिने कम्पनीको योजना छ।
उपाय सिटी कार्गोले ‘खेती’ नामक प्लेटफर्मको माध्यमबाट साना लघु कृषि उत्पादक तथा किसानहरु र कृषि उपभोक्तालाई अनलाइनबजार उपलब्ध गराउने तयारी समेत थालेको छ।
यो अनुदान सहयोगले ड्राइभर पार्टनर तथा किसानहरुलाई डिजिटल अर्थ व्यवस्था, विद्युतिय माध्यमबाट गरिने भुक्तानी, उपभोक्तासँगको सम्बन्ध ,व्यवसायिकता, सडक सुरक्षा तथा सवारी साधनको मर्मतसम्बन्धि प्रशिक्षण समेत प्रदान गर्ने कम्पनीले जनाएको छ।
सो प्रशिक्षणका क्रममा विदेशबाट फर्किएका कामदाहरुलाई लजिष्टिक र कृषिको क्षेत्रमा स्वरोजगार बन्ने अवसर समेत प्रदान गरिने कम्पनीका अध्यक्ष सुमन रायमाझीले जानकारी दिए।
उपाय सिटी कार्गो जस्तो कम्पनीसँग सहकार्यमा काम गर्न पाउँदा यूकेएड अत्यन्तै खुशी रहेको यूकेएडका लागि नेपाल प्रमुख बलजित बोहराले बताए।
याे पनि पढ्नुहाेस्
सामान ढुवानी गर्ने उपाय