अमेरिकी मोटरसाइकल ब्राण्ड हार्ले डेभिडसनको काठमाडौंको शोरुम बन्द भएको छ।
हार्लेको नेपालको लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले २ करोड हाराहारीको खर्चमा निर्माण गरेको गैह्रीधाराको शोरुम बन्द गरेको हो।
बिक्री नभएका कारण हालको लागि आयात रोकिएको आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले जानकारी दिए।
‘बिक्री भए न आयात गर्ने हो। कम्पनीले अहिलेभन्दा सानो साइजमा रहनुपर्छ भनेर नयाँ तरिकाले जान लागेको हो। ब्राण्ड नै बन्द भने गरेको होइन,’ उनले सेतोपाटीसँग भने।
गैह्रीधाराको शोरुम भने पूर्ण रुपमा बन्द गरेर नयाँ ठाउँमा सार्न गर्न लागेको भट्टराईले जानकारी दिए।
‘हामीले बिक्री पछिको सेवा र माग अनुसारका मोटरसाइकल बिक्री रोक्दैनौ। यो महँगो मोटरसाइकल भएकाले स्टक राखिरहनु जरुरत छैन,’ उनले सेतोपाटीसँग भने।
आधिकारिक रुपमा नेपाल भित्रिएको अढाई वर्षमा आईएमई अटोमोटिभ्सले १५/१६ वटा मोटरसाइकल बेचेको र अब ४/५ वटा मात्रै स्टक रहेको भट्टराईले जानकारी दिए।
हार्ले डेभिडसन २०७५ सालमा भएको नाडा अटो शोमा आधिकारिक रुपमा नेपाल भित्रिएको थियो। यसअघि हार्ले डेभिडसन भारतीय बजारबाट समेत बाहिरी सकेको छ।