सोमबार दक्षिण कोरियन अटोमोबाइल कम्पनी हुन्डाइ र कियाले एप्पल कार नबनाउने घोषणा गरेपछि, एप्पल कारको निर्माणकर्ता को हुनेछ भन्ने प्रश्न सबैको मनमा उठेको छ।
केही वर्षयता एप्पलले ‘प्रोजेक्ट टाइन’ अन्तर्गत आफ्नो पहिलो सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार बनाउन लागेको हल्ला चलेको थियो। जसमा हुन्डाइ र कियासँगको सहकार्यमा अमेरिकामा नै कार उत्पादन गर्ने चर्चा बढेको थियो।
तर, अन्तमा यो कुरा अस्वीकार गरेपछि बजारमा दुई अटोमोबाइल कम्पनीको सेयरसँगै नाम पनि घटेको सिएनएन बिजनेसले बताएको छ।
एप्पलसँग कार बनाउँदा हुन्डाइ र कियाले विश्वव्यापी नाम कमाउन सक्थे वा सक्दैनथे भन्ने स्पष्ट नभएको कमर्ज बैंकमा अटोमोटिभ विश्लेषक डेमियन फ्लावर्सको भनाइ छ।
डेमियन फ्लावर्स भन्छन्, ‘एप्पललाई आफ्नो सबै उत्पादनमा नियन्त्रण राख्नु पर्छ। त्यसैले यो कम्पनीले एप्पल कार बनाउन पार्टनर नभएर एउटा गाडी निर्माता खोजेको छ।’
त्यसो भए एप्पल अब आफ्नो सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार बनाउन कुन कम्पनीसँग सहकार्य गर्छ त?
अटोमोटिभ विज्ञहरुका अनुसार एप्पल कार बनाउन एप्पलले अटोमोबाइल कम्पनीसँगै सहकार्य गर्नु पर्ने हुन्छ। कार निर्माण गर्न, त्यसको लागि आवश्यक लगानी, विशेषज्ञता र कार्यबल लागत एप्पलको लागि पनि गाह्रो पर्न सक्छ।
यसको लागि चर्चित अटोमोबाइल कम्पनी फोर्ड, जेनरल मोटर्स, टेस्ला, होन्डा, निसान र स्टेलान्टिसलाई एप्पलले सम्भावित आफ्नो पार्टनरको रुपमा सुरु गर्न सक्ने विज्ञहरुले जनाएका छन्।
एप्पल कार बनाउने सम्झौतामा एप्पलले आफ्नो टेक्नोलोजी नदिने र पछि भविष्यमा सँगै काम पनि नगर्न सक्ने भएकाले अटोमोबाइल कम्पनी बेवास्ता गरिरहेको डेमियन फ्लावर्स बताउँछन्।
‘चर्चित अटोमोबाइल कम्पनी फक्सवागन आफ्नै सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार बनाउन चाहन्छ र टेस्लासँग प्रतिस्पर्धा गर्न पनि तयार छ,’ कमर्ज बैंकमा अटोमोटिभ विश्लेषक डेमियन फ्लावर्स भन्छन्, ‘यस्तो बेला कुनै पनि अटोमोबाइल कम्पनी आफ्नो योजनालाई पछि पारेर एप्पलसँग सहकार्य गर्ने छैन।’
जर्मन बैंक मेट्जलरका विश्लेषक जर्जन पाइपरका अनुसार सेल्फ ड्राइभिङ र इलेक्ट्रिक कार बनाउन ठूलो लगानी गर्न नसक्ने अटोमोबाइल कम्पनीहरु मात्र एप्पलसँग सहकार्य गर्न सक्छन्।
‘आर्थिक हिसाबमा हुन्डाइ, होन्डा, निसान, स्टेलान्टिस र बिएमडब्लुले एप्पल कार निर्माण गर्न सक्ने क्षमता छ,’ जर्जन पाइपरले भने, ‘यदि एप्पलले कुनै ब्रान्डसँग मिलेर आफ्नो गाडी उत्पादन गर्न थाल्यो भने अटोमोबाइल व्यवसायमा तीव्र परिवर्तन देखिनेछ।’
तै एप्पलले क्यानाडियन मोबिलिटी टेक्नोलोजी कम्पनी म्याग्नालाई एप्पल कार बनाउने जिम्मा दिन सक्ने सिएनएन बिजनेसले अनुमान लगाएको छ।
म्याग्नाले मर्सिडीज बेन्च, टोयोटा, बिएमडब्लु र जगुअर लगायत अटोमोबाइल कम्पनीहरुका लागि गाडी निर्माण गरिसकेको छ।