जनकपुरधामको कुर्थादेखि भारतको जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ। रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर ७५ रुपैयाँ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले जानकारी दिए।
अरु सवारीसाधन जति नै हुने गरी भाडादर प्रस्ताव गरिएको उनले बताए। सामान्यभन्दा डिलक्स सिटका लागि भने महंगो भाडा पर्नेछ।
सामान्यभन्दा ४ देखि ५ गुणासम्म महंगो भाडा कायम हुनसक्ने उनको भनाइ छ। उनले भने, ‘हामीले प्रस्ताव गर्दा ३७५ रुपैयाँ प्रस्ताव गरेका छौं।’
औपचारिक रूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको कम्पनीले जनाएको छ। भारतीय कम्पनी कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते २ सेट डेमो ट्रेन आएको थियो। सो रेलमा १ हजार २०० देखि १ हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ।
यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने कम्पनीले जनाएको छ।
रासस