नेपालमा आधिकारिक वितरक नभएको गाडी आयात गर्न नदिन नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल(नाडा) ले आग्रह गरेको छ।
बुधवार अर्थ मन्त्री विष्णुप्रसाद पौडेल तथा नाडा प्रतिनिधि मण्डल बीच भएको छलफलमा आधिकारिक वितरक नभएको गाडी आयात गर्न नदिन आग्रह गरेको हो।
नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्धारा नियुक्त जुन सुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम भई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको बताए।
आर्थिक बर्ष २०७७/७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिने व्यवस्था गरेको थियो।
छलफलमा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको भन्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु प्रस्ट पारेका थिए।
कार्यक्रममा अर्थ मन्त्री पौडेलले नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएकोले अटोमोवाइल व्यवसायीहरुले नेपालमै विद्युतीय सवारी साधनहरुको उत्पादन थाल्नु पर्ने र त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफूले गरिदिने बताएका थिए।