नेपालमा नै पहिलो पटक स्मार्ट कार्डको प्रयोग गरी सार्वजनिक बसमा भाडा भुक्तानी गर्न सकिने भएकाे छ। यसकाे शुरुआत गाम्चा, नौलिङ्गस्थानदेखि गोपिकृष्ण, शहीदगेट, टेकु, कलंकी हुँदै नयाँ बसपार्क रुटमा चल्ने संयुक्त यातायातबाट गरिएकाे छ।
अटोमेटेड फेयर कलेक्सन सिस्टम (एएफसी) को सुरूवातसँगै अब यात्रु बसमा स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गर्न सकिने भएको हो।
कपन संयुक्त यातायात र फिनटेक इन्टरनेशनलको सहकार्यमा यात्रुहरुको सेवा तथा सुविधाको लागि परम्परागत नगदमार्फत बस भाडा भुक्तानी गर्ने प्रणालीमा परिवर्तन गरी आधुनिक तथा विश्वब्यापीरुपमा प्रचलनमा रहेको स्पर्शरहित,आधुनिक, स्मार्ट कार्डमार्फत बस भाडा भुक्तानी गर्ने अटोमेटेड फेयर कलेक्सन सिस्टम (एएफसी) को सुरुआत गरीएको हो ।
आइतबार एक कार्यक्रमबीच बुढानिलकण्ठ नगरपालिका मेयर उद्धव खरेलले स्मार्ट कार्डबाट भाडा भुक्तानी गरि यसकाे शुरुआत गरेका छन्। कार्यक्रममा बाेल्दै मेयर खरेलले याे प्रविधि सार्वजनिक यातायातलाई ब्यवस्थित, प्रविधियुक्त, सर्वसुलभ तथा यात्रुमैत्री बनाउन सहयोगी हुने बताए।
संयुक्त यातायातका अध्यक्ष भरत तिमिन्सिनाले कार्डमार्फत भाडा भुक्तानी गर्दा यात्रुहरुलाई तोकिएको भाडा भुक्तानी गर्ने सुविधा उपलब्ध हुने, छिटो छरितो सेवा उपलब्ध हुने जानकारी गराए ।
फिनटेक इन्टरनेशनलले स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गर्दा खुद्रा पैसाको अभावमा तोकिएको भाडा भुक्तानी गर्न असजिलो, फिर्ता पैसा नपाउँदा तोकिएको भाडाभन्दा बढी भाडा भक्तानी गरिरहनु परेको, फिर्ता पैसा प्राप्त गर्न कुर्नुपर्ने, पैसा झिक्दा र राख्दा हराउने डर, पैसा तिर्दा ब्यक्तिगत सम्पर्क हुने हँुदा रोग सर्न सक्ने सम्भावना आदी समस्याहरु हट्ने जानकारी गरायो ।
यात्रा कार्डको केही विशेषताहरु
-हालको नगदमार्फत भाडा भुक्तानी हुने प्रकृयामा परिवतर्न गरी आधुनिक कन्ट्याक्टलेस स्मार्ट कार्डको प्रयोगवाट बसको भाडा भुक्तानी गर्न सकिन्छ ।
-सरकारले तोकेको भाडा दर वरावरको रकम भुक्तानी हुने ।
-यो कार्डमा रेडियो फ्रिक्वेन्सी प्रविधि जडान हुने भएकोले स्पर्शरहित तरिकाले भाडा भुक्तानी गर्न सकिने।
-कार्डमार्फत भाडा भुक्तानी गरिने प्रविधि विश्वव्यापी रुपमा प्रयोग भइरहेको र नेपालमा यसको प्रयोगबाट सरकारको डिजिटल नेपालको अवधारणामा सहयोग पुग्ने ।
यात्रा कार्ड प्राप्त गर्ने, प्रयोग गर्ने, रिचार्ज गर्ने आदी सम्बन्धमा जानकारी
–यात्रा कार्ड काठमाडौं उपत्यकाको मुख्य/मुख्य बस बिसौनीमा रहेको फिनटेक बुथ वा बस भित्रवाट ५० रुपैयाँ डिपोजिट वापत्को रकम भुक्तानी गरी प्राप्त गर्न सकिनेछ ।
–कार्ड लिएपछि पहिलो पटक एक्टिभ गर्न न्यूनतम १०० वा चाहिए जतीको रिचार्ज गर्नु पर्नेछ । कार्ड रिचार्ज बुथवाट, बस भित्रवाट, बैङ्क खाताबाट वा यात्रा एपमार्फत गर्न सकिनेछ ।
–बसमा यात्रा गर्दा बस चढेपछि ट्याप इन (मेशिनमा कार्ड देखाउने) गर्नु पर्ने र ओर्लने बेला ट्याप आउट गर्नुपर्नेछ ।
–यात्रुले यात्रा गर्न चाहेको रुटमा सफल भुक्तानीको लागी यात्रा कार्डमा पर्याप्त भाडा रकम वरावर व्यालेन्स हुनु पर्नेछ ।
–व्यालेन्स सम्वधी जानकारी पाउन फिनटेक बुथ वा बस भित्र टिकेटिङ मेसिनवाट चेक गर्न सकिनेछ । साथै यात्रा गरिसकेपछि उपलब्ध हुने टिकटवाट समेत ब्यालेन्स रकमको जानकारी उपलब्ध हुनेछ ।
–विद्यार्थी जेष्ठ नागरिक तथा फरक क्षमता भएका ब्यक्तिहरुको लागि सरकारद्वारा तोकिएको छुट भाडा उपलब्ध हुनेगरी ब्यक्तिगत कार्ड उपलब्ध गराईनेछ । यस प्रकारको कार्ड तोकिएको आवेदन फाराम भरी बुझाएको केहीदिन भित्रै उपलब्ध हुनेछ ।
–त्यदि कुनै कारणबस यात्रा कार्ड हराएमा वा विग्रिएमा फिनटेकको तोकिएको नम्बरमा सम्पर्क गरी बदलामा अर्को कार्ड लिन सकिनेछ ।