देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल-काठमाडौं सिधा पर्यटक बस सेवा सुरू भएको छ।
‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवर्द्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौंबाट एउटा पर्यटक बस सुरू गरेको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले पर्यटक बस सेवा उद्घाटन गरे।
नेपालका मुख्य सहरहरूमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकामा सो संस्थाले दशौं गन्तव्यअन्तर्गत दिक्तेल-हलेसी-काठमाडौं पर्यटक बस सञ्चालन सुरू गरिएको बस सेवाका अध्यक्ष एवम् नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष सिएन पाण्डेले बताए।
सो बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु बीमा, पर्यटकको सेवा दिने तालिम प्राप्त जनशक्ति छन्।
प्रतिव्यक्ति रु एक हजार ५०० भाडा निर्धारण गरिएको बसको टिकट अनलाइनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको छ। यसअघि सुपर खोटाङ-भोजपुर यातायात प्रालिले दिक्तेल-काठमाडौं माइक्रो भ्यान सेवा सुरू गरेको थियो।