सरकारले यातायात क्षेत्रमा काम गर्नेलाई कोरोना विरुद्धको खोप दिने भएको छ।
आगामि माघ २३ गतेदेखि हुने क्याम्पेनमा यातायात क्षेत्रमा काम गर्नेहरुलाई समावेश गर्न लागिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए।
‘अबको क्याम्पेनमा यातायात क्षेत्रमा काम गर्ने, ५५ वर्ष माथिका सबै, विद्यालय तथा विश्व विद्यालयका शिक्षक, शिक्षिका, प्राध्यापक कर्मचारी, सफाईकर्मी, औषधि पसले र प्रयोगशालमा काम गर्नेहरुलाई खोप लगाउने तय गरेका छौं,’ उनले सेतोपाटीसगँ भने।
यातायात क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निणर्य स्वागत योग्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘यो कोरोनाको धेरै जोखिम भएको क्षेत्र हो। सरकारको यो निणर्यले यातायात मजदुरहरु निर्धक्क भएर काम गर्न पाउँछन्। सबै मजदुर तथा कर्मचारीहरुलाई खोप लगाउन आग्रह पनि गर्छौ,’ उनले भने।
हालसम्म नेपालमा अनुदान र खरिद गरेर कुल २० लाख डोज कोरोना विरुद्धको खोप नेपाल भित्रिसकेको छ।