तपाईं सेकेन्ड ह्यान्ड गाडी किन्ने सोचमा हुनुहुन्छ? कम पैसामा राम्रो अवस्थाको गाडी पाइने हुँदा यो विकल्प रोज्नु राम्रो हो। नयाँ मोडल, फेरीफेरी प्रयोग गर्न पाइने र फाइनान्स सुविधा हुनाले सेकेन्ड ह्यान्ड गाडी प्रयोग बढेको छ।
तर यस्ता गाडी किन्नुअघि धेरै कुरा बुझ्न जरूरी छ। बेलैमा ख्याल गरियो भने किनिसकेपछि पछुताउनु पर्दैन।
यहाँ हामीले सेकेन्ड ह्यान्ड गाडी किन्दा ध्यान दिनुपर्ने केही मुख्य कुराबारे उल्लेख गरेका छौं।
ओडोमिटर जाँचः (कति किलोमिटर गुडेको छ भनेर हेर्ने)
सेकेन्ड ह्यान्ड गाडी किन्नुअघि ओडोमिटर राम्ररी जाँच्नु आवश्यक हुन्छ। कहिलेकाहीँ व्यापारीले गाडी थोरै किलोमिटर कुदेको वा चलेको देखाएर महँगोमा बेच्न ओडोमिटर बिगारेका हुन सक्छन्।
उदाहरणका लागि, गाडी बेच्नेले ५ हजार किलोमिटर गुडेको गाडीको ओडोमिटर बिगारेर एक हजार किलोमिटर मात्र गुडेको देखिने बनाइदिन सक्छन्। कम गुडेको गाडी राम्रो अवस्थाको हुने सोचेर हामी बढी मूल्य तिर्न सक्छौं। त्यसैले वास्तविकता थाहा पाउन गाडीको ओडोमिटर जाँच गराउनु राम्रो हुन्छ।
दलालबाट सावधान रहनुस्ः
गाडी बेचाएपछि आफूले पाउने कमिसनका लागि सहयोगी भूमिकामा रहेकाले पनि गाडीको बढाइँचढाइ गर्न सक्छन्। दलालले दिएका सबै जानकारीमा भर नगर्नुस्। आफैं परीक्षण गरेर मात्र गाडी किन्ने-नकिन्ने निधो गर्नुस्।
आधिकारिक कम्पनीसँगै किन्नुस्ः
सकेसम्म आधिकारिक कम्पनीबाटै सेकेन्ड ह्यान्ड गाडी किन्दा केही समस्या आयो भने गुनासो गर्न सक्छौं। वा वारेन्टीका लागि कागज गर्न सक्छौं। गाडीबारे कम्पनीले गरेको दाबी मिलेन भने त्यसको क्षतिपूर्ति लिन सक्छौं। यी सबै कुनै व्यक्तिबाट किन्दा गर्न सकिँदैन।
किनेपछि गाडी मर्मत-सम्भारमा लाग्ने खर्चः
सेकेन्ड ह्यान्ड गाडीमा केही चिजले काम नगर्ने वा पाटपूर्जा बिग्रिएको हुन सक्छ। यस्तो मर्मतसम्भार आफैंले गर्नुपर्ने भएमा त्यसमा कति खर्च लाग्न सक्छ भन्ने पनि हिसाब पहिल्यै गर्दा राम्रो हुन्छ। नभए सोचेभन्दा धेरै खर्च हुन सक्छ।
गाडीको इन्टेरियरः
कुनै पनि गाडीको इन्टेरियर महत्वपूर्ण हुन्छ। गाडीको इन्फो-सिस्टम, सिट-बेल्ट, ड्यासबोर्ड, सिट अवस्था लगायत भित्रका सबै पाटपूर्जा जाँच गर्नुपर्छ।
गाडीको ऋण, कर र पृष्ठभूमि बुझ्नुस्ः
आफूले किन्न लागेको गाडी पहिले ऋणमा किनिएको थियो कि? उक्त ऋण चुक्ता भएको छ वा छैन भन्ने बुझ्न जरुरी हुन्छ। त्यस्तै सवारी कर चुक्ता भए, नभएको पनि जाँच्नु पर्छ। किन्नुभन्दा पहिल्यै गाडीका सम्पूर्ण कागजात हेर्नुस् र ठीक भएको सुनिश्चित गर्नुस्।
यसबाहेक सेकेन्ड ह्यान्ड गाडी किन्दा किनिएको ठाउँ वा व्यक्ति, प्रयोग गरिएको ठाउँ वा काम लगायत बुझ्नुपर्छ। गैरकानुनी काममा प्रयोग भएको रहेछ भने समस्यामा पर्न सकिन्छ। साथै गाडी कुनै दुर्घटनामा परेको थियो वा त्यो दुर्घटनाका असर गाडीमा के-के छन् भन्नेबारे पनि पूर्ण जानकारी लिनु आवश्यक हुन्छ।
कहिलेकाहीँ यसरी बेचिने गाडी चोरीका पनि हुन सक्छन्। यस्तो समस्याबाट बच्न गाडीको दर्ता नम्बर, बीमा लगायत सबै कागज जाँच गर्नुस्। आफूले किन्ने गाडीविरूद्ध कुनै उजुरी परेको छ कि, त्यो पनि सुनिश्चित गर्नुहोस्।
किन्नुअघि गाडी एकचोटि चलाएर हेर्नुस्।
अनि मुख्य कुरा, तपाईंले किन्न लागेको सेकेन्ड ह्यान्ड गाडीको बजार मूल्य कति छ? कतै सेकेन्ड ह्यान्ड गाडीमा धेरै पैसा त परेको छैन भन्ने पनि याद गर्नुस्।