सन १९८२ मा नेपालमा आफ्नो यात्रा सुरू गरेको सिप्रदी नेपालले मंगलबार एकै पटक पाँच ब्रान्डका टाटा गाडी सार्वजनिक गरेको छ।
यसअघि नै बजारमा सार्वजनिक भइसकेका टाटाका एच फाइभ, नेक्सन, अल्ट्रोज, टियागो र टिगोरका नयाँ मोडलका गाडी सिप्रदीले सार्वजनिक गरेको हो।
बिएस सिक्स इन्जिन र नयाँ नयाँ फिचरसहित बजारमा आएका यी गाडीले नेपाली बजारमा आफ्नो पकड जमाउन सक्ने सिप्रदी नेपालले आशा गरेको छ। यसैबिबीच सिप्रदी नेपालका सिओओ राजेशप्रसाद गिरीले गाडी किन्दा छुटको पछाडि नलाग्न ग्राहकसँग आग्रह गरेका छन्।
'गाडी किन्दा ग्राहकले छुट माग्ने होइन,' गिरीले भने, 'ग्राहकले त गाडी किनेर सर्भिस माग्ने हो। '
'सिप्रदीले टाटाका गाडीको मूल्य सुपथ राखेको छ, हामी अरुले जस्तो ५० लाखको गाडीलाई ५५ लाख भनेर ३ लाख डिस्काउन्ट गरेर ५२ लाख लिदैनौं,' उनले भने, 'यो अटोमोबाइल क्षेत्रमा चलिरहेको यथार्थ हो।'
उनले सिप्रदीले ग्राहकलाई दिने सर्भिसमा कुनै कन्जुस्याँइ नगरेको समेत बताए।
'रातको १२ बजे हामीलाई फोन गर्नुस्, हामी मोबाइल भ्यान पठाएर सेवा दिन्छौं,' उनले भने, 'सर्भिस बुकिङमा आउनेलाई पनि प्राथमिकता दिने गरेका छौं।
टाटाले सर्भिसका लागि काठमाडौं उपत्यकाभित्र पिकअप र ड्रप व्यवस्था गरेको उनले बताए।
दुर्घटनाबाहेक अन्य केसमा ४८ घण्टाभित्र गाडी बनाएर ग्राहकलाई दिने गरेको समेत उनले दाबी गरे।
टाटाले सन रुफसहित नेक्सन र एच फाइभ गाडी सार्वजनिक गरेको छ। एच फाइभको सुरूआती मूल्य ८५ लाख ९५ हजार रुपैयाँ छ। एच फाइभको फूल अप्सनको मूल्य ८९ लाख ९० हजार तोकिएको छ।
त्यस्तै नेक्सनका विभिन्न मोडलका गाडी ३५ लाख ९५ हजारबाट सुरू भएर ५२ लाख ५५ हजारसम्म किन्न सकिन्छ। अल्ट्रोजको मूल्य ३५ लाख ५० हजार राखिएको छ। त्यस्तै टियागोको सुरूआती मूल्य २३ लाख छ।
टिगोरको मूल्य ३२ लाख ५० बाट सुरू भइ ३९ लाख ९५ हजारसम्म छ।