मोटरसाइकल ब्रान्ड केटिएमले नेपाली बजारमा एड्भेन्चर २५० सार्वजनिक गरेको छ। बाइक सार्वजनिक गरेसँगै यसको बुकिङ पनि खुला गरिएको छ।
कम्पनीका अनुसार नेपालमा व्यापक रूपमा बढिरहेको एड्भेन्चर मोटरसाइकल सेग्मेन्ट विस्तार गर्ने योजनासहित यो बाइक ल्याइएको हो। यसअघिको केटिएम ३९० एड्भेन्चर सार्वजनिक भएको थियो।
एड्भेन्चर २५० मा उत्कृष्ट ह्यान्डलिङ र इन्जिन पन्च भएको कम्पनीले जनाएको छ। २४८ सिसीको यो बाइकमा अत्याधुनिक डिओएचसी फोर–भल्भ सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन छ। यसले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्क जेनेरेट गर्छ।
यसमा २३० एमएम रियर ब्रेक डिस्क र लार्ज ३२० एमएम फ्रन्ट ब्रेक डिस्क छ। बोसको अत्याधुनिक एबिएस प्रणालीले यसमा अफ–रोड मोड थप गरेको छ जसले ड्यासबोर्डमा भएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई निकै साघुँरो बाटोमा पनि आरामले चलाउन सघाउँछ।
१४.५ लिटर ट्यांकी र इन्धन बचाउ गर्ने बिएससिक्स इमिशन इञ्जिनले चालकलाई विभिन्न भू–भागमा लामो दुरीको एड्भेन्चरहरू गर्न प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ।
कम्पनीले यसको मूल्य ७ लाख ४९ हजार ९ सय निर्धारण गरेको छ।