जावाको पेराक बाइक नेपाली बजारमा भित्रिएको छ। क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालीले शुक्रबारबाट जावा मोटरसाइकल सार्वजनिक गरेको हो।
बीएस–सिक्स इन्जिनयुक्त यो बाइकको इन्जिनमा ६ स्पिड गियरबक्स छन्। जावा पेराक बीएस–सिक्स ३३४ सिसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डिओएचसी इन्जिनसहित आएको छ। जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ।
जावा पेराक अघि नेपालमा जावा क्लासिक र जावा फोर्टी–टु मोडलका बाइक उपलब्ध छन् । दुवै मोडलका बाइक सिंगल च्यानल र ड्युअल च्यानल एबिएस भेरिएन्टमा उपलब्ध छन्। यी दुईटै बाइक २९० सिसी क्षमताका हुन्।
स्टाइलअनुसार जावा पेराक ‘बबर’ बाइक हो। यसमा फ्लोटिङ सिंगल सीट छ। जसको मुनि गोलो ब्रेकलाइट छ। यसबाहेक पेराकमा बार–एन्ड मिटर मिरर, काटिएको फेन्डर्स जडान गरिएको छ।
यसको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फ्रोक्स रहेको छ। पछाडि मोनोशक सस्पेन्सन छ। दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ। जावा पेराकमा डुअल च्यानल एबिएस पनि पाइन्छ।
उक्त बाइकको मूल्य ७ लाख ५० हजार रूपैयाँ तोकिएको छ।