नेपालमा विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेशन बनाउने जिम्मा चिनियाँ कम्पनी स्टार चार्ज (जियाङसु जोङदोङ न्यू इनर्जी) ले पाएको छ।
कम्पनी प्राविधिक रुपमा योग्य भएको र न्यून आर्थिक प्रस्ताव गरेकाले छनौट गरिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार उक्त चिनियाँ कम्पनीलाई सम्झौताका लागि आव्हान गरिएको छ।
'हामीले ‘लेटर अफ इन्टेन्ट’ जारी गरेका छौं। अब यसपछि खरिद सम्झौता हुन्छ। यो अब सम्झौताको चरणमा गएको छ', उनले सेतोपाटीसँग भने।
काठमाडौं उपत्यका तथा मुख्य राजमार्गमा ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न आव्हान गरेको टेन्डरमा १३ कम्पनीले सहभागिता जनाएका थिए।
पहिलो चरणको चार्जिङ स्टेशन निर्माणका लागि ३६ करोड लागत अनुमान गरिएको छ।
सम्झौता भएको बढीमा १ वर्षभित्र निर्माण गरिसक्नुपर्ने यो काममा जिम्मा पाएको कम्पनीले न्यून र उच्च भोल्टेजका चार्जिङ पोर्ट, ट्रान्सफर्मर, सफ्टवेयर, भुक्तानी प्रणालीसम्मका काम गर्नुपर्ने छ।