राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरूद्ध भएको छ। एप अपडेटका कारण राइड नचलेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन्।
'ट्याक्सी र फुड डेलिभरी चलेको छ। एप अपडेट भइरहेकाले राइड सेवा चाहिँ नचलेको हो,' उनले भनिन्।
उनका अनुसार ट्याक्सी र फुड भने बुधबार बिहानदेखि चल्न सुरू भएको छ।
'हामीले बिहान साढे ८ बजेतिर ग्राहकलाई ट्याक्सी र फुड चल्न सुरू भयो भनेर जानकारी गराएका थियौं,' उनले भनिन्।
एप अपडेट कति समयमा हुन्छ भन्ने बताउन नसकिने उनले जानकारी दिइन्। एप अपडेट भइसकेपछि ग्राहकलाई एपमा सूचना आउने उनले बताइन्।
'ट्याक्सी चालक र हाम्रो राइडरबीच भएको झगडाले सेवा बन्द भएको होइन,' कम्पनीकी मार्केटिङ म्यानेजर हमालले भनिन्, 'प्राविधिक समस्याले भएको हो। प्राविधिकले बनाउँदै छन्।'
सोमबार ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका थिए।
आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेका हुन्।
सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै कुटपिट गरेको भन्ने जानकारी आएको उनले बताइन्।
'बिहान घटना घटेपछि बेलुका पनि चालक मिलेर पठाओका राइडरलाई कुटेको भन्ने खबर आएको छ,’ उनले भनिन्, ‘को राइडर हुन् हामीलाई जानकारी आइसकेको छैन। हामीले पनि सोसल मिडियामार्फत् थाहा पाएका हौं।'
यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको उनले जानकारी दिइन्।