तपाईंले आफ्नो कारको स्याहार-सम्भार र सुरक्षामा ध्यान दिनुभएन भने स्वरूप नराम्रो हुनुका साथै बिग्रेर धेरै दुःख दिन सक्छ, असुरक्षित हुन सक्छ।
कुनै पनि कार किनिसकेपछि केही सामान्य कुरामा ध्यान नदिँदा पनि समस्या आउँछ। हामीले यहाँ कारबारे ख्याल राख्नुपर्ने नौ कुराबारे चर्चा गरेका छौं।
१. पूजा गर्दा विचार गर्नुस्ः
हामीकहाँ नयाँ गाडी किनेपछि पूजा गर्ने चलन छ। कार पूजा गर्दा केही हुँदैन। तर अबिर, लड्डु र फूल सिधै स्टेयरिङमा चढाउनेहरू हुन्छन्। यसो गर्दा त्यो चढाएको सामानका टुक्राहरू स्पार्क प्लगसम्म पुगेर बिग्रिन सक्छ।
त्यसैले पूजा गर्दा अबिर, लड्डु र फूल स्टेयरिङमा नचढाउनुस्।
२. कम्प्युटर र सेन्सरः
त्यस्तै आजभोलिका कार कम्प्युटर र सेन्सर भएको हुँदा कारमा कुनै किसिमको 'एक्सटर्नल वाइरिङ' नगर्न पनि मेकानिकहरू सुझाउँछन्। यसले कम्प्युटर प्रणाली बिगार्ने सम्भावना हुन्छ। यदि गाडीको कम्प्युटर प्रणालीमा केही समस्या भए कम्बिनेसन मिटरमा 'माल्फंसन लाइट' बल्ने र त्यसो भएमा तुरुन्त आधिकारिक सर्भिस सेन्टरमै गएर बनाउँदा राम्रो हुन्छ।
आफ्नो र कारको सुरक्षाका लागि जहिल्यै पनि चलाउनुअघि इन्जिन आयल, रेडिएटरको पानी, ब्रेक आयल, टायरलगायत अन्य करा जाँच गर्नुपर्छ। सामान्य लाग्ने यी कुरामा पनि ध्यान दिन आवश्यक छः
३. पार्किङः कारलाई तातो घाममा सिधै नराख्ने। यसले कारको रङ खुइलिँदै जान्छ र चमक कम गर्छ। घामले कारको इन्टेरियर पनि बिगार्छ। कार पार्क गर्दा ग्यारेज वा छाया पर्ने शीतल ठाउँमा गर्ने वा कभरले ढाक्ने।
४. ब्याट्रीः कारको विद्युतीय प्रणालीमा ब्याट्रीको भूमिका प्रमुख छ। धेरै तापक्रममा कारको ब्याट्री बिग्रने सम्भावना बढ्छ। त्यसैले गर्मीमा धेरै लामो समय चलाइसकेपछि केही समय इन्जिन अफ गरी राख्ने। ब्याट्रीको चार्ज के कस्तो छ भन्नेबारे जानकार हुने र चार्ज गर्दा पनि सही रेटमा गर्ने। त्यस्तै यसमा धूलो जम्न नदिई सफा राख्नुपर्छ।
५. टायरः टायरले कारको सुरक्षाका साथै इन्धन खपतमा पनि विशेष भूमिका खेल्छ। त्यसैले यसको अवस्थाबारे थाहा पाइराख्नुपर्छ। टायरमा हावाको चाप (एयर प्रेसर) कम वा बढी भए समस्या आउँछ। यात्रा गर्नुअघि एयर प्रेसर राम्ररी जाँचेर मात्र हिँड्ने। त्यस्तै टायरबीच सन्तुलन कायम छ भनेर पनि निश्चित गर्नुपर्छ।
६. इन्जिन आयल (लुब्रिकेन्ट): इन्जिन आयलले इन्जिन सञ्चालनमा मद्दत पुर्याउने मात्र नभएर यसले पाटपूर्जा पनि सफा राख्न मद्दत गर्छ। त्यसैले बेलाबेलामा इन्जिन आयल जाँच गरी फेर्नुपर्ने भए, फेर्नुपर्छ। इन्जिन आयल सधैं राम्रो ग्रेडको र सकेसम्म आफ्नो कार कम्पनीले सिफारिस गरेको हाल्नुपर्छ। आयल अधिक सूचांकभन्दा बढी पनि हाल्नु हुँदैन।
त्यस्तै जहाँ पायो त्यहीँको, जस्तो पायो त्यस्तै पेट्रोल-डिजेल पनि हाल्नुहुँदैन।
७. कूलिङ सिस्टमः स्पीडमा र गर्मीमा कार चलाउँदा कूलिङ सिस्टममा दबाब पर्छ। त्यसैले यसमा विशेष ख्याल राख्नुपर्छ। कूलिङ सिस्टम जाँच गर्दा इन्जिन सेलाएको बेला गर्ने र तातो हुँदा कहिले पनि रेडिएटर क्याप ननिकाल्ने। कूल्यान्ट लेभल नियमित जाँच गर्ने र सके प्रत्येक वर्ष परिवर्तन गर्ने। यदि कूलिङ सिस्टम बारम्बार भर्नुपर्ने भएको छ भने यो लीक भएको हुनसक्छ।
८. ब्रेकः कुनै पनि सवारी साधनमा ब्रेक एकदमै महत्वपूर्ण हुन्छ। बिग्रेको र राम्ररी काम नगर्ने ब्रेकले जोखिम तथा खतरा बढाउँछ। ब्रेक आयल पनि नियमित जाँच गर्नुपर्छ।
कारको एयर फिल्टर पनि जाँच गर्नुपर्छ र परेमा फेर्नुपर्छ। रेडिएटर बेलाबखत नरम ब्रसले सफा गर्नुपर्छ। त्यस्तै यसमा पानीको लेभल सधैं जाँच गर्नुपर्छ।
९. सरसफाइः कार सफा गर्दा राम्रो गुणस्तरीय र सफा सामानले गर्ने। धूलो फोहोर कपडा वा स्पन्जले कार कोरिन सक्छ र जति नै सफा गरे पनि राम्रो हुँदैन।
कारको बाहिरी भागमा चराको दिसा, पेट्रोल वा डिजेल परेमा तुरुन्त सफा गर्ने। चराको दिसामा धेरै एसिड हुने भएकाले कारको रङमा असर पुर्याउँछ।
गर्मीमा कारभित्र दुर्गन्ध नहोस् भनेर यसका सिट बेलाबखत सफा गर्ने। कभर हालेको भए धुने। तलको भागमा फ्लोर म्याट ओछ्याउने र त्यसलाई पनि निकालेर सफा गर्ने।
कारका झ्याल, ड्यास बोर्ड, अगाडि, पछाडिको सिसा सफा राख्ने। कारको भित्री भाग सफा गर्दा, लाइटहरू खोल्दा, लुबिक्रेन्ट हाल्दा सकेसम्म पन्जा लगाएर गर्ने।
त्यस्तै कारबाट कुनै असामान्य वा नराम्रो आवाज आएमा कुनै स्पेयर पार्ट बदल्न पर्ने हुनसक्छ। गाडीमा सामान्यभन्दा केही परिवर्तन देखिएमा आफ्नो आधिकारिक सर्भिस सेन्टरमा लगेर देखाइहाल्नु पर्छ। यसले जोखिम न्यूनीकरणमा मद्दत पुर्याउँछ।
कारको राम्रो स्याहारसम्भार तथा सुरक्षा गरे यसले आफूलाई पनि सुरक्षित राख्छ।