दिन प्रतिदिन चर्चित हुँदै गएको राइड–सेयरिङ प्लेटफर्म काठमाडौं बाहिर पनि सुरु भएको छ। सोमबार ‘गाडी एप’ बुटवल, पोखरा, नारायणगढ, झापा र धरानमा सुरु भएको हो।
यात्रुलाई एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न यो प्लेटफर्म सस्तो र सहज मानिन्छ। यसले रोजगार पनि सृजना गर्छ। यस कारण यो एप अन्य जिल्लामा समेत उत्तिकै लोकप्रिय हुने अपेक्षा कम्पनीको छ।
उक्त प्लेटफर्ममा आफ्नो बाइक,ट्याक्सी, अटो, स्कर्पियो लगायत दर्ता गर्न सकिन्छ।
बाइकको लागि पहिलो १ कि.मि. सम्म ४० रुपैयाँ र त्यसपछि प्रति कि.मि. १५ रुपैयाँ थपिँदै जान्छ। अटोको लागि पहिलो १ कि.मि. सम्म ३० रुपैयाँ र त्यसपछि प्रति कि.मि १५ रुपैयाँ थपिँदै जान्छ। साथै ट्याक्सीको लागि पहिलो १ कि.मि. सम्म ६० रुपैयाँ र त्यसपछि प्रति कि.मि ५० रुपैयाँ थपिँदै जाने कम्पनीले बताएको छ।
नाकाबन्दीका बेला नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भएको थियो। सर्वसाधरणले एक ठाउँबाट अर्को ठाउँमा जान निकै सास्ती भोग्न परेको थियो। सोही समस्यालाई मध्यनजर गर्दै काठमाडौंमा टुटल नामक एप सुरु भएको थियो। यसको सपलतापछि पठाओ लगायतका विभिन्न राइड सेयरिङ एप आउन थालेका छन्।