दक्षिण कोरियाको हुन्डाइ मोटरले अप्रिल ५ देखि अप्रिल १३ सम्म आफ्नो उत्पादन रोक्ने भएको छ। कम्पनीले चिप अभावका कारण अस्थायी रूपमा उत्पादन स्थगित गर्ने योजना बनाएको कोरिया इकोनोमिक डेलीले जनाएको छ।
यहाँको उल्सान फ्याक्ट्रीमा कोना इलेक्ट्रिक र आइओनिक ५ गरी वर्षेनी ३ लाख ११ हजार मोटर उत्पादन हुँदै आएको छ।
कम्पनीले चिपको अभावमा उत्पादन रोक्ने नै हो कि भन्ने निश्चित गर्न रोयटर्सले हुन्डाइलाइ सोधेको थियो। जवाफमा हुन्डाइले भन्यो, ‘अस्थायी रूपमा कुनै पनि सुविधा स्थगित गर्ने निर्णय भएको छैन।’
कोरिया इकोनोमिक डेलीका अनुसार हुन्डाइको उल्सान नम्बर १ फ्याक्ट्रीमा चिप्स र पावर इलेक्ट्रिक मोड्युलसम्बन्धी आपूर्ति मुद्दाहरूका कारण उत्पादन स्थगित भइरहेको छ।
यसकारण चिप अभावका कारण उत्पादन नै रोक्नुपर्ने अटो कम्पनीमध्ये हुन्डाइ पनि परेको छ। हुन्डाइले यसअघि विश्वव्यापी सहकारीहरूबाट भए पनि चिप्सको भण्डार कायम राखेको रोयटर्सकाे गत महिनाकाे रिपोर्टले देखाएकाे थियो।
पछिल्लो समय चिप अभावका कारण विभिन्न अटो कम्पनी र मोबाइल फोनको उत्पादनमा समेत असर परेको छ।