पोलस्टारले अबको दस वर्षभित्र विश्वकै पहिलो 'कार्बन न्युट्रल' विद्युतीय कार उत्पादन गर्दैछ। यो कार्बन न्युट्रल कार भनेको बाहिरी वातावरणमा कत्ति पनि कार्बनडाइअक्साइड ननिकाल्ने हो।
कम्पनीले सन् २०३० सम्ममा 'पोलस्टार जिरो' नामक कार्बन न्युट्रल बिजुली कार उत्पादन गर्ने लक्ष्य राखेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
स्वीडेनको इलेक्ट्रिक कार निर्माण कम्पनी पोलस्टारले शून्य प्रदूषणको विद्युतीय गाडी बनाउने पहिलो कम्पनीका रूपमा चिनाउन लागिपरेको छ। यो कारले कार्बनको नामनिसान पनि नछाड्ने कम्पनीको दावी छ।
पोलस्टार भोल्भो र यसको मूल कम्पनी गिल्लीको मोडल हो। यसले यो दशकको अन्त्यसम्ममा कार्बन उत्सर्जन घटाउने लक्ष्य राखेको छ र यसका लागि कार बनाउने तरिका पूर्ण रूपमा बदल्ने बताएको छ।
विश्वमा विद्युतीय कारको लोकप्रियता बढ्दो छ। धेरै देशले यसको प्रवर्द्धन गर्दै आगामी केही वर्षमा पेट्रोल-डिजेल इन्जिन पूर्णरूपमा प्रतिबन्ध गर्ने घोषणा पनि गरिसकेका छन्।
कार निर्माता कम्पनीहरूले वातावरणीय विज्ञको सल्लाह उल्लेख गर्दै वातावरण प्रदूषणसम्बन्धी चेतावनी दिँदै आएका छन्।
प्रायः कार निर्माण कम्पनीहरूले विज्ञका सल्लाह मान्दै विभिन्न ठाउँमा वृक्षरोपण जस्ता कार्यक्रम सञ्चालन गर्दै पनि आएका छन्। तर यो कतिको सुरक्षित र फलदायी विकल्प हो भन्नेबारे प्रश्न यथावत नै छ।
पोलस्टारका मुख्य कार्यकारी अधिकारी थोमस इन्गेन्लाथले भनेका छन्, ‘वातावरण प्रदूषण नगराउने कार निर्माण गर्दै हामीले आफैंलाई चुनौती दिएका छौं। हामीले हरेक कुरामा प्रदूषण शून्य रहोस् भन्ने कुरामा ध्यान पुर्याएका छौं।’