नेपाली बजारमा दुई पाङ्ग्रे सवारीको माग बढ्दो छ। विभिन्न ब्रान्डका नयाँ मोडलका मोटरसाइकल तथा स्कुटर बजार भित्रने क्रम पनि जारी नै छ।
सडकमा मोटरसाइलको तुलनामा स्कुटर बढी गुडेको देखिन्छ। मोटरसाइकलको तुलनामा चलाउन सजिलो र सामान राख्न डिकी पनि हुने भएकोले सडकमा स्कुटर धेरै देख्न थालेको व्यवसायीहरु अनुमान लगाउछन्।
तर मोटरसाइकलको तुलनामा स्कुटरमा फ्युल क्यापासिटी (इन्धन क्षमता) र माइलेज कम हुन्छ। हाल नेपाली बजारमा उपलब्ध स्कुटरमध्ये धेरै माइलेज दिने केही स्कुटरको सूची र त्यसको विशेषता यहाँ दिइएको छ।
होन्डा ग्राजिया
होन्डा ग्राजियाले प्रति लिटर ६० किलोमिटरसम्मको माइलेज दिन्छ। यसको फ्युल क्षमता ५.३ लिटरको छ।
पावरको कुरा गर्दा ग्राजियाले ६ हजार ५ सय आरपिएममा ८.५२ बिएचपी पावर जेनेरेट गर्छ भने ५ हजार आरपिएममा १०.५४ टर्क जेनेरट गर्छ।
४ स्ट्रोक एसआइ इन्जिन भएको यसमा फ्यान–कुल्ड सिस्टम छ। १२५ सिसी क्षमता भएको यो स्कूटरको ग्राउन्ड क्लेरेन्स १७१ एमएमको छ। ग्राजिया १०८ केजीको छ।
कम्पनीले यसको सुरूआती बजार मूल्य २ लाख २२ हजार ९ सय तोकेको छ।
होन्डा डिओ
नेपालमा होन्डाको डिओले लोभलाग्दो बजार लिएको छ। जम्मा ५.३ लिटरको फ्युल क्षमता भएको यो स्कुटरले प्रति लिटर ५५ किलोमिटरसम्मको माइलेज दिन्छ।
डिओले ७ हजार आरपिएममा ८ बिएचपी र ५ हजार ५ सय आरपिएममा ८.७७ एनएम टर्क जेनेरेट गर्छ। यो स्कुटरको ग्राउन्ड क्लेरेन्स १५८ एमएम छ।
स्कुटरलाई किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ। स्कुटरको तौल जम्मा १०५ केजी छ। कम्पनीले होन्डा डिओको नेपाली सुरुवाती बजार मूल्य २ लाख १६ हजार ९ सय रूपैयाँ तोकेको छ।
सुजुकी बर्गमान स्ट्रिट १२५
१२५ सिसी क्षमता भएको सुजुकी बर्गमान स्ट्रिट १२५ नेपाली बजार प्रवेश गरेको धेरै भएको छैन। ५.६ फ्युल क्षमता भएको यो स्कुटरले प्रति लिटर ५३.५ किलोमिटरसम्मको माइलेज दिन्छ।
स्कुटरले ६ हजार ५ सय आरपिएममा ८.६० बिएचपीको पावर र ५ हजार आरपिएममा १०.२० एनएमको टर्क जेनेरेट गर्छ। यो स्कुटरको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ।
यसमा १६० एमएमको ग्राउन्ड क्लेरेन्स छ। बर्गमान स्ट्रिट जम्मा ११० केजीको छ। कम्पनीले नेपालमा सुजुकी बर्गमान स्ट्रिट १२५ को सुरुवाती मूल्य २ लाख ४१ हजार ९ सय तोकेको छ।
टिभीएस एन्टर्क १२५
नेपालमा टिभिएस एन्टर्कले राम्रो प्रतिक्रिया पाइरहेको छ। चार स्ट्रोक, एयर–कुल्ड, सिंगल सिलिन्डर र एसओएचसी इन्जिन हुने एन्टर्क हरेक उमेर वर्गको रोजाइमा पर्दै आएको अनुमान लगाउन सकिन्छ।
यो स्कुटरले ७ हजार ५ सय आरपिएममा ९।२७ बिएचपी पावर र ५ हजार ५ सय आरपिएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ। एन्टर्कको ग्राउन्ड क्लेरेन्स १५५ एमएमको छ।
५.८ लिटरको पेट्रोल क्षमता भएको यो स्कुटरले प्रति लिटर ५३.४ किलोमिटरसम्मको माइलेज दिन्छ।
१२५ सिसी क्षमताको यो स्कुटरमा किक स्टार्ट र सेल्फ स्टार्ट दुवै छ। यसको ग्राउन्ड क्लेरेन्स १५५ एमएमको छ भने तौल ११८ केजीको छ।
नेपाली बजारमा कम्पनीले टिभिएस एन्टर्कको सुरुआती मूल्य २ लाख १५ हजार ९ सय तोकेको छ।
अप्रिलिया एसएक्सआर १६०
हालसालै बजारमा सार्वजनिक अप्रिलिया एसएक्सआर १६० ले प्रति लिटर ४८ किलोमिटरसम्मको माइलेज दिन्छ। यसको फ्युल ट्याङ्क क्षमता ७ लिटरको छ।
एसएक्सआर १६० म्याक्सी–स्कुटर भएता पनि यसको बाहिरी आवरण कुनै स्पोर्ट स्कुटरभन्दा कम छैन। यो १६०.०३ सिसी बिएस६ इन्जिनबाट चल्छ भने १०.८४ बिएचपी पावर र ११.६ एनएमको टर्क जेनेरेट गर्छ।
प्रायः अन्य स्कुटरको तुलनामा अप्रिलियाका मोडलहरू भारी हुन्छन्। एसएक्सआर १६० को कुल तौल १२९ केजी छ।
नेपालको लागि अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्स हो। यसले अप्रिलिया एसएक्सआर १६० को सुरुवाती बजार मूल्य ४ लाख ९ हजार ९ सय तोकेको छ। यो अप्रिलिया ब्रान्डको स्कुटरमध्ये सबैभन्दा महंगो स्कुटर हो।
कुनै पनि बाइक र स्कुटरले कति माइलेज दिन्छ भन्ने चालक र कस्तो भूभागमा चलाएको भन्नेमा पनि भर पर्छ। पिच नभएको खल्ट्याङ खुल्टुङ बाटोमा पेट्रोलको बढी खपत हुन्छ। त्यस्तै आफ्नो साधन समय–समयमा सर्भिसिङ गराए यसले राम्रो माइलेज दिने कम्पनीकाे भनाइ छ।