ललितपुर महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा ६ वटा बिजुली बस सञ्चालनमा ल्याउने भएको छ। महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार आगामी चार महिनामा बस चलाउने गरी तयारी सुरू भइसकेको हो।
'हामीले योजना खाका बनाइसकेका छौं। एक हप्ताभित्रमा टेन्डर पनि आह्वान गर्दैछौं। चार महिनाभित्रमा बिजुली बस सञ्चालनमा ल्याउँछौं,' मेयर महर्जनले सेतोपाटीसँग भने।
यी बसहरू ललितपुर महानगरका मुख्य पर्यटकीय स्थलमा चल्ने छन्। मेयर महर्जनका अनुसार पहिलो चरणमा तीन वटा रूट तय गरिएको छ।
पुल्चोकबाट मंगलबजार, लगनखेल, जाउलाखेल हुँदै पुनः पुल्चोकसम्म एउटा रूट।
अर्को, पुल्चोकबाट मंगलबजार, पाटन, सुन्धारा, महाबौद्ध हुँदै पुनः पुल्चोकसम्म।
तेस्रो, जावलाखेल, लगनखेल, एकान्तकुना, धोबीघाट, कुपन्डोल, सानेपा।
विशेषगरी पर्यटक लक्षित यी बसहरू १४ देखि १६ सिट क्षमताका हुने छन्। पर्यटक, शारीरिक अशक्तता भएका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकालाई शुल्क लाग्दैन।
'बसहरु अपांगमैत्री हुनेछन्। अपांग, वृद्धवृद्धा र बालबालिकाले पैसा तिर्नुपर्दैन,' मेयर महर्जनले भने, 'पाटन दरबार घुम्न आउने पर्यटकले पनि पर्यटक शुल्क बुझाउँदा नै बसको टिकट पाउँछन्।'
पर्यटकले यसरी पाएको टिकटको मान्यता जारी मितिबाट तीन दिनसम्म रहने महानगरले जनाएको छ। अर्थात् पाटन दरबार घुम्न आएका पर्यटकले तीन दिनसम्म निःशुल्क बिजुली बसमा यात्रा गर्न पाउनेछन्।
बिजुली बसले लक्षित वर्ग (शारीरिक अशक्तता भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका तथा पर्यटक) हरूका लागि निः शुल्क सेवा दिन महानगरले स्रोत छुट्याएर साझालाई उपलब्ध गराउने तयारी गरेको छ। त्यसका लागि कति स्रोत लाग्छ भनेर अध्ययन गर्न बाँकी रहेको मेयर महर्जनले बताए।
बस किन्न महानगरले साझा यातायातलाई साढे दुई करोड रूपैयाँ दिइसकेको महानगरले जानकारी दिएको छ। त्यसमा साझाले पनि केही रकम थप गर्नेछ।
'बस किन्न हामीले साढे दुई करोड रूपैयाँ साझालाई दिइसकेका छौं। अब यसमा साझाले केही रकम थप्छ। महानगर र साझाको सहकार्यमा छ वटा बस किन्न सकिन्छ भन्ने अनुमान हामीले गरेका छौं,' मेयर महर्जनले भने।
यी बस चार्ज गर्ने चार्जिङ स्टेसन भने छैनन्। तत्काल बनाउने तयारी समेत छैन।
'तत्काल चार्जिङ स्टेसनका लागि तयारी छैन। अहिले साझाको यार्डमै चार्जको व्यस्था गर्छौं। पछि बिजुली बस बिस्तार गर्दै लगेपछि चार्जिङ स्टेसनहरू विस्तार गर्ने सोचमा छौं,' मेयर महर्जनले जानकारी दिए।
पछिल्लो समय बढ्दो वायु प्रदूषण, पेट्रोलियम पदार्थको सीमितता तथा जलवायु परिवर्तनका कारण बिजुली सवारी प्रयोग बढ्न थालेको छ। चीन, भारत लगायत विश्वका धेरै विकसित मुलुकले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन क्रमशः विस्थापित गर्ने अभियानमा छन्।
बढ्दो वातावरण प्रदूषण न्यूनीकरणका लागि बिजुली सवारी प्रयोग गर्नुपर्ने भएकाले ललितपुर महानगरपालिकाले पनि यो योजना अघि सारेको हो।
'यो सुरूआत हो। विस्तारै अरू थप्दै जाने योजना छ। हामीले सुरू गरेपछि अन्य स्थानीय तहमा पनि सुरू हुन्छ भन्ने विश्वास छ। अनि विस्तारै प्रयोग बढ्दै जान्छ,' मेयर महर्जनले भने।