कोरना महामारीको समयमा नेपालमा कार, जीप र मोटरसाइकल प्रयोगकर्ताहरु बढेका छन्।
भन्सार विभागको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा कार, जीप र मोटरसाइकलको आयात समेत बढेको देखिन्छ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/०७७ को चैत महिनासम्म ८ अर्ब ६४ करोड ३२ लाख ४५ हजार ३३० रुपैयाँ बराबरका ९ हजार ७ सय ७५ थान जीप, कार र भ्यानहरु आयात गरिएको थियो।
चालु आर्थिक वर्षको चैतसम्म १२ अर्ब ९ करोड ५० लाख ८८ हजार ४८१ रुपैयाँ बराबरका १२ हजार ३४ थान जीप, कार र भ्यानहरु आयात भएको देखिन्छ।
अघिल्लो वर्षको तुलनामा नेपालमा मोटरसाइकल प्रयोगकर्ताहरु समेत अत्याधिक बढेका छन्।
तथ्यांक हेर्दा चालु आर्थिक वर्षको चैतसम्म १ लाख ९३ हजार २६० थान मोटरसाइकल आयात भएको देखिन्छ। अनएसेम्बल्ड मोटरसाइकल (फिट नगरिएका) ७५ हजार ७ सय ३५ थान आयात गरिएको छ।
अघिल्लो वर्षको यही अवधिमा १ लाख ४६ हजार १ सय ९३ मोटरसाइकल आयात भएको देखिन्छ। अन एसेम्बल्ड मोटरसाइकल ५१ हजार ५ सय ९८ थान आयात भएको देखिन्छ।
विभागको तथ्यांक अनुसार डबल क्याब पिकअप गाडीहरुको आयात समेत बढेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको चैतसम्म यस्ता गाडी १ हजार ८ सय ७५ थान आयात भएको देखिन्छ। चालु आवको चैतसम्म १ हजार ९ सय ६१ थान आयात गरिएको छ।
सिंगल क्याब पिकअप गाडीको आयात अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर बढेको छ। गत आवको चैतसम्म २ हजार ६ सय ७० थान आयात भएको सिंगल क्याव पिकअप गाडी यस वर्षको सोही अवधिमा ४ हजार ३ सय ८० आयात भएको तथ्यांकले देखाउँछ।
त्यस्तै गरी ट्रक तथा मिनी ट्रक आयातमा पनि वृद्धि भएको छ। अघिल्लो आवको चैतसम्म ३ हजार २ सय ५८ ट्रक तथा मिनिट्रक आयात भएकोमा चालु आवको चैतसम्म ४ हजार २ सय ३२ थान आयात गरिएको छ।
नेपालमा कार, जीप, मोटरसाइकल तथा ट्रक लगायत सवारीको आयात बढे पनि बस, मिनी बस तथा माइक्रो बसको आयातमा भने गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा करिब ६० प्रतिशतको हाराहारीमा आयात घटेको छ।
गत आर्थिक वर्षमा ५ सय ३६ थान बस आयात गरिएकोमा चालु आवको सोही अवधिमा १ सय ९२ थान बसमात्रै आयात भएको देखिन्छ।
अघिल्लो आवमा २ सय ५४ मिनिबस आयात भएकोमा चालु आवमा घटेर ९७ थान मिनिवस मात्रै आयात भएको देखिन्छ।
अघिल्लो आवको चैतसम्म ४ सय ४६ थान आयात भएको माइक्रो बस १ सय ४ थान मात्रै आयात भएको छ।
कोरोना महामारीका कारण सार्वजनिक सवारीमा भन्दा निजी सवारीको प्रयोगमा आकर्षण बढेको व्यवसायीहरुले बताएका छन्।
जसले गर्दा बस, माइक्रो बस तथा मिनिबसको तुलनामा पछिल्लो समय कार, जीप तथा मोटरसाइकलको माग बढेकाले मागअनुसारका सवारी आयात गरिएको व्यवसायीहरुको भनाई छ।
अग्नी इन–कर्पोरेट प्रालिका जनरल मेनेजर वरदान बस्नेत पछिल्लो समय नेपालमा सवारी साधनको माग बढेकाले आयात बढेको बताउँछन्।
‘कोरोना महामारीपछि नेपालमा सवारी साधनको माग बढेको छ। जसले गर्दा आयात बढ्ने भयो नै। तर सवारी साधनको उत्पादन सामान्य अवस्थाको जस्तो छैन,’ उनले भने।
कोरोनाका कारण सवारी साधनका पार्टपुर्जाको उत्पादनमा समेत गिरावट आएकाले बजारमा अभाव देखिएको उनको भनाई छ।
विभागको तथ्यांकले सवारीको पार्टपूर्जा आयात समेत बढेको देखाएको छ। अघिल्लो वर्षको तुलनामा ३ अर्बभन्दा बढी रकम बराबरको पार्टपूर्जाआयात भएको देखिन्छ।
अघिल्लो आवको चैतसम्म २१ अर्ब ८५ लाख ४४ हजार १ सय ९३ रुपैयाँको सवारी साधनको पार्टपूर्जा आयात गरिएको थियो। चालु आवको चैतसम्म २४ अर्ब ६८ करोड ५ हजार ३ सय ६६ रुपैयाँ बराबरको पार्टपूर्जा आयात भएको तथ्यांकले देखाउँछ।
अघिल्लो आवको चैतसम्म सवारी तथा पार्टपूर्जा गरेर कुल ५९ अर्ब ४९ लाख ३४ हजार ५ सय २९ रुपैयाँ बराबरको आयात भएको थियो। चालु आवको चैतसम्म ७३ अर्ब ८६ करोड ५२ लाख ७८ हजार ९ सय २८ रुपैयाँ बराबरको सवारी तथा तिनका पार्टपूर्जा आयात भएको देखिन्छ।