कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि एक साता निषेधाज्ञा जारी गरिएको छ। वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा समयमा अत्यावश्यक बाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सवारी सञ्चालनमा रोक लगाइए पनि हवाई सेवा भने तत्काल बन्द नगर्ने सरकारले निर्णय गरेको छ। यातायात व्यवसायीहरूले सरकारको यो निर्णय विभेदकारी भएको गुनासो गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णय विभेदकारी भएको भन्दै दुःख व्यक्त गरे।
‘गाडी बन्द गर्दा सरकारले जहाज किन बन्द नगर्ने? गाडीबाट कोरोना संक्रमण फैलिने जोखिम हुँदा जहाजमा हुँदैन?,’ उनले प्रश्न गरे।
निषेधाज्ञाको बेला हवाई सेवा सञ्चालन भइराख्ने हो भने यातायात व्यवसाय पनि सञ्चालन गर्न पाउनुपर्ने उनको माग छ।
पछिल्लो समय कोरोना महामारी बढ्दै गएकाले सबै पक्ष सजग हुनुपर्ने बेला आएको तर सरकारले जहाज र गाडीमा विभेद गरेको अधिकांश व्यवसायीहरूको गुनासो छ।
‘सरकारले अत्यावश्यक बाहेकका उद्योगधन्दा, पसल, कार्यालयहरू बन्द गरेपछि हाम्रो गाडी चल्दैन। तर काठमाडौंमा निषेधाज्ञा गरिसकेपछि जहाज मात्र किन खुला गर्ने? जहाज चढ्नेलाई चाहिँ कोरोना लाग्दैन?’ महानगर यातायातका महासचिव केशव नेपालले प्रश्न गरे।
सार्वजनिक यातायात केन्द्रीय महासंघका सचिव समेत रहेका नेपाल पनि सिटौलाको भनाइसँग सहमत छन्। हवाई सेवा सञ्चालन खुला हुँदा यातायात व्यवसाय मात्रै बन्द गर्नु सरकारको विभेदकारी नीति भएको उनको भनाइ छ।
‘सरकारले हवाई व्यवसाय र यातायात व्यवसायबीच पक्षपात गरेको हो। सरकारले पक्षपात गर्यो भनेर हामी गाडी लिएर सडकमा आउने सोचमा त छैनौं,’ उनले भने, ‘ तर सरकारले कोभिड महामारी न्यूनीकरणका लागि यातायात व्यवसाय मात्रै बन्द गरेर हुँदैन। हवाई सेवाबाट पनि कोभिड फैलिने जोखिम छ नि!’
अर्का यातायात व्यवसायी अच्यूत अधिकारी पनि जहाज चल्दा गाडीहरू पनि चल्न पाउनुपर्ने बताउँछन्।
‘कोभिड रोकथाममा सबै हातेमालो गर्ने हो भने गरौं। हामीमाथि मात्रै विभेद गर्ने हो भने जहाज चल्दा गाडी पनि चल्न पाउनुपर्छ,’ उनले भने।
कोभिडका कारण लामो समय थलिएर उठ्न नपाउँदै आफूहरू पुनः थलिने अवस्थामा पुगेको भन्दै यातायात व्यवसायीहरू चिन्तामा छन्। कोभिड महामारीकै कारण ५० प्रतिशत यातायात व्यवसायी पलायन हुने अवस्था आएको उनीहरू बताउँछन्।