ओलाको विद्युतीय स्कुटर अन्तर्राष्ट्रिय बजारमा बिक्रीको लागि तयार भएको छ। यही आर्थिक वर्षदेखि यो ई–स्कुटर फ्रान्स, इटाली र जर्मनलगायत राष्ट्रमा उपलब्ध गराइने कम्पनीका कार्यकारीहरू बताउँछन्।
प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) अनुसार यतिबेला स्कुटरको ‘हाइपरचार्जर नेटवर्क’ स्थापना गर्ने काम भइरहेको छ। कम्पनीले ओलाको यो ई–स्कुटर भारतमा यही जुलाईमा सार्वजनिक गर्ने योजना बनाएको छ।
‘हामी यो ई–स्कुटर यही आर्थिक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गर्दैछौं। यसको बिक्री भारतबाट सुरु हुन्छ, तर छिट्टै यसको बिक्री यूरोप केन्द्रित हुनेछ,’ ओलाका अध्यक्ष तथा समूहका सिइओ भविश अग्रवालले पिटिआईलाई भने।
कम्पनलीले यो ई–स्कुटरको मूल्य हालसम्म तोकेको छैन। तर गत वर्ष तमिल नाडुमा आफ्नो पहिलो विद्युतीय स्कुटरको कारखाना स्थापना गर्न भारू २ हजार ४ सय करोडको लगानी भएको घोषणा गरेको थियो। कारखाना स्थापनासँगै यसले झन्डै १० हजारलाई रोजगार दिएको छ।
ओलाको विद्युतीय स्कुटरले वातावरणको ख्याल राख्नुका साथै दिगो विकासको सिद्धान्त पछ्याउने कम्पनीले विश्वास राखेको छ।
कम्पनीका सिइओ अग्रवालका अनुसार विद्युतीय स्कुटरले भूमध्ये सागरको वरिपरि रहेका यूरोपेली राष्ट्रहरूमा राम्रो बजार पाउनेछ। यसर्थ कम्पनीले निर्यातमा जोड दिनेछ। यद्यपि यसको पहिलो प्राथमिकता भने भारतीय बजार नै हुनेछ।
विद्युतीय स्कुटरसँगै सिइओ अग्रवालले भविष्यमा ओलाको विद्युतीय कार पनि सार्वजनिक गर्ने सङ्केत दिएका छन्।