भारतीय गाडी उत्पादन कम्पनी मारुती सुजुकीले आफ्नो उत्पादन काम थप एक साताको लागि स्थगित गर्ने भएको छ।
कोरोना भाइरस महामारीको दोस्रो लहरसँगै कम्पनीले उत्पादन काम स्थगित गरेको थियो।
पूर्व योजना अनुरुप मे ९ अर्थात् आइतबारदेखि काम पुनः सुरु गर्ने भनिएको थियो। तर कम्पनीले थप एक साता अझै उत्पादन काम रोक्ने भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
काम स्थगित गर्ने समयलाई कम्पनीले ‘प्लान्ड मेन्टेनेन्स’ समय बताएको छ। अर्थात् पूर्व निर्धारित मर्मत समय बताएको हो।
कम्पनीले उत्पादन काम स्थगित गर्नुको ठोस कारण नखुलाए पनि बढ्दो कोरोना संक्रमित र महामारीको कारण उत्पादन रोकिएको भन्ने बुझ्न सकिन्छ।
कम्पनीको उत्पादन कारखाना भएको ठाउँ हर्याना भारतको सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्रमध्ये पर्छ।
केही समय अघि सुजुकीले उत्पादन कारखानाबाट काम बन्द गराएर कारखानामा प्रयोग हुने अक्सिजन स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रका लागि उपलब्ध गराएको थियो।
यतिबेला कम्पनी चार पाङ्ग्रेको माग घट्ने विषयमा पनि चिन्तित छ। रिपोर्ट अनुसार गाडीको माग मार्चमा भन्दा अप्रिलमा ७ प्रतिशतले घटेको छ।
मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले हालसालै एक अन्तर्वार्तामा कम्पनीले वर्तमान परिस्थितिमा उत्पादन क्षमता घटाउनेबारे सोचेको बताएका छन्।
‘विभिन्न ठाउँमा जारी निशेधाज्ञा, लकडाउन र कर्फ्युहरूका कारण गाडी डिलरहरू बन्द छन्। यसले गर्दा गाडीको बिक्री घट्दो छ। त्यसैले उत्पादन नै कम गर्ने सोचेका छौं, अध्यक्ष आरसी भार्गवले भनेका छन्, ‘अहिलेको अवस्थामा गाडी किन्ने ग्राहक पनि घटेका छन्।’