दुई पाङ्ग्रे सवारी निर्माण कम्पनी हिरो मोटोकर्पले आफ्नो उत्पादन काम थप एक साताको लागि स्थगित गर्ने भएको छ।
सुरुमा कम्पनीले गत अप्रिल २२ देखि मे १ सम्म उत्पादन काम रोक्ने निर्णय गरेको थियो। पछि महामारी र विभिन्न क्षेत्रमा जारी निषेधाज्ञाका कारण काम मे ९ सम्म स्थगित रह्यो। अब भने कम्पनीले मे १६ सम्म आफ्नो काम रोक्ने निर्णय गरेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
कम्पनीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सवारी निर्माण काम मात्र नभइ कम्पनीले ग्लोबल पार्ट सेन्टर (जिपिसी) र सेन्टर अफ इनोभेसन एन्ड टेक्नोलोजी (सिआइटी)बाट हुने काम पनि स्थगित गर्दैछ।
विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले वर्तमान परिस्थितिबारे निरन्तर अनुगमन गरिरहेको छ। अवस्था सामान्य भएसँगै हामी आफ्नो व्यवसायलाई योजनाबद्ध रूपले निरन्तरता दिने तयारीमा छौं। पछि कम्पनीको उत्पादन क्षमता बढाउन सक्षम हुनेमा आशा राखेका छौं।’
सवारी उत्पादन काम स्थगित गरेसँगै सम्भवतः कम्पनीको वार्षिक उत्पादन घट्ने अनुमान कम्पनीले लगाएको छ। यसले उत्पादन क्षमता र ग्राहकको मागलाई असर पार्ने विषयमाा कम्पनी चिन्तित छ।
हिरो मोटोकर्पले वार्षिक ९० लाख युनिट सवारी उत्पादन गर्दै आएको छ।
कोरोना महामारी र जारी प्रतिबन्धका कारण अटो क्षेत्रमा ठूलो असर परेको छ। थुप्रै ठूला सवारी उत्पादन कम्पनीहरू आफ्नो निर्माण काम स्थगित गर्न बाध्य भएका छन्।
केही समय अघि मात्रै भारतीय गाडी उत्पादन कम्पनी मारुती सुजुकीले पनि आफ्नो उत्पादन काम थप एक साताको लागि स्थगित गर्ने निर्णय गरेको थियो। कम्पनीले ‘प्लान्ड मेन्टेनेन्स’ समय बताउँदै मे १६ सम्मको लागि सवारी निर्माण काम रोकेको छ।
यतिबेला मारुती सुजुकी पनि बजारमा चार पाङ्ग्रेको माग घट्ने विषयमा चिन्तित छ।