रोयल इन्फिल्डले चेन्नाइमा रहेको कारखानाबाट आफ्नो उत्पादन ४ दिनका लागि स्थगित गरेको छ।
देशमा फैलिदो कोरोना संक्रमणलाई मध्यनजर गरेर कम्पनीले मे १३ देखि १६ सम्म अस्थायी रूपमा काम रोक्ने निर्णय लिएको भारतीय अखबार हिन्दुुस्तान टाइम्सले लेखेको छ।
बुधबार लिइएको सो निर्णयअनुसार उक्त समय कारखानामा मर्मतको काम हुनेछ।
महामारी समय आफ्नो कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राखेर केही समयको लागि उत्पादन काम रोकेको कम्पनीले बताएको छ।
'रोयल इन्फिल्डले अहिलेको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको छ। र अनुकुल समय आएसँगै हामी उचित कदम चाल्ने छौँ,'कम्पनीले जारी गरेको एक प्रेस विज्ञप्तिमा भनिएको छ, 'कोरोना महामारीको यस्तो परिस्थितिमा कारखानाको कर्मचारीहरूको सुरक्षा र हितलाई प्राथमिकता दिदैँ रोयल इन्फिल्डको कारखानाबाट अस्थायी रूपमा काम रोक्ने निर्णय भएको हो।'
कम्पनीका अनुसार प्रायः राज्य र ठूला सहरहरूमा जारी लकडाउन र निशेधाज्ञाहरूका कारण यतिबेला सवारी साधनहरूको माग घट्दो छ।
गत महिनाको तुलनामा अप्रिलमा सवारीको माग ह्वात्तै घटेको तथ्यांकले पुष्टी गरिसकेको हिन्दुस्तान टाइम्सले लेखेको छ।