हिरो मोटोकर्पले विद्युतीय सवारी निर्माणमा डेब्यु गर्दैछ। संसारको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे सवारी निर्माता कम्पनी हिरो मोटोकर्पले विद्युतीय सवारी निर्माण क्षेत्रमा पाइला टेक्न लागेको हो।
सन् २०२२ को पहिलो त्रैमासिक, जनवरी-मार्चसम्ममा कम्पनीले नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको भारतीय अटो वेभसाइट मोटोरोइड्सले लेखेको छ। सो जानकारी कम्पनीका सिएफओ (प्रमुख वित्तीय अधिकारी) निरञ्जन गुप्ताले दिएको बताइएको छ।
कम्पनीले नयाँ विद्युतीय सवारी निर्माणका लागि हालै ताइवानी कम्पनी गोगोरो इंकसँग सम्झौता गरेको छ। यो साझेदारीले हिरोलाई भारतमा लिथियम-आयन ब्याट्री-स्वापिङ स्टेशनको नेटवर्क स्थापना गर्न मद्दत पुर्याउने छ।
योसँगै हिरोको नयाँ विद्युतीय सवारीहरूमा स्वापेबल ब्याट्री अर्थात् फेर्न मिल्ने ब्याट्री हुने अनुमान लगाउन सकिन्छ।
दुई कम्पनीहरूले संयुक्त रूपमा विद्युतीय सवारी पनि निर्माण गर्ने बताइएको छ।
हिरो मोटोकर्पले केही समयअघि एथर इनर्जीमा पनि लगानी गरेका छन्। एथर इनर्जी विद्युतीय स्कुटर उत्पादन कम्पनी हो।। र, यसका प्रोमोटर पवन मुन्जालले ओला इलेक्ट्रीकमा लगानी गरेका छन्।
कम्पनीले सार्वजनिक गर्ने नयाँ दुई-पाङ्ग्रेको विशेषताहरू के-कस्ता हुन्छन् हालसम्म सार्वजनिक भएको छैन।