युरोपमा पहिलो पटक विद्युतीय हवाई ट्याक्सी निर्माण हुँदैछ। क्षेत्रको शीर्ष वायु सुरक्षा नियामकका अनुसार यो हवाई ट्याक्सीले सन् २०२४ अथवा सन् २०२५ सालसम्ममा उडान भर्नेछ।
युरोपको आधा दर्जनभन्दा बढी कम्पनीहरूले विद्युतीय हवाई ट्याक्सीको निर्माण घोषणा गरेको रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ। रिपोर्ट अनुसार यी हवाई ट्याक्सीहरू यात्रुको प्रयोजन, औषधी र अन्य सामग्री आपूर्तिका लागि प्रयोग हुनेछ।
'मलाई विश्वास छ यी हवाई ट्याक्सीहरू सन् २०२४ अथवा सन् २०२५ भित्र व्यवसायिक प्रयोगमा आउँनेछन्', युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी (इएएसए) का कार्यकारी निर्देशक प्याट्रिक किले बुधबार भएको एक अनलाइन कार्यक्रममा भनेका छन्। उनका अनुसार सुरूमा सामग्री ओसारपसारसँगै हवाई ट्याक्सीको प्रयोग र परिक्षण गरिनेछ।
इएएसएले मानव रहित उडान विकासको लागि विभिन्न कम्पनीहरूसँग काम थालेको छ। एजेन्सीले अमेरिकी संघीय उड्डयन प्रशासन र अन्य अन्तर्राष्ट्रिय नियामकहरू समन्वयमा काम गरिरहेको रिपोर्ट गरिएको छ।
एजेन्सीका कार्यकारी निर्देशक प्याट्रिकका अनुसार यात्रु नराखी उडान सुरू गर्न सहज पनि छ। उनले यसमा कारण खुलाउँदै भने, 'किनभने हामी सानो स्केलमा हवाई ट्याक्सी निर्माण गर्दैछौं। ठूलो मात्रामा काम अघि बढाउन अझै समय र सम्झौताहरूको आवश्यक छ।'
इएएसएले निर्माणरत हवाई ट्याक्सीको केही डिजाइनहरूको प्रमाणिकरण प्रक्रिया पनि सुरू गरिसकेको प्याट्रिकले बताए।
केही समय अघि इएयिएले सहरी क्षेत्रमा हवाईमार्फत आवतजावत सम्बन्धि नागरिकको प्रतिक्रियाबारे सर्वेक्षण गरेको थियो। सर्वेक्षण युरोपका ६ शहरबाट ४ हजार नागरिकमा गरिएको थियो। जसको नतिजा पनि प्रकाशित भएको छ।
नतिजामा ८३ प्रतिशत नागरिकहरू हवाई मार्ग प्रति सकारात्मक छन्। उनीहरूले आपतकालिन र मेडिकल सामग्रीको ओसारपसारमा हवाई मार्ग निकै राम्रो र छिटो हुनेमा समर्थन गरेका छन्।
त्यस्तै केही नागरिकहरूले सुरक्षासम्बन्धि चासो व्यक्त गरेका छन्। एजेन्सीद्वारा सर्वेक्षण गरिएको अधिकांश नागरिकहरूले भने आकाशमा उडिरहेका चरा र किराहरूको सुरक्षाबारे चासो देखाएका थिए।