रूसी र्यापर टिमुर इल्दारोविच युनुसोभले आफ्नो दुई वर्षीय छोरालाई ल्याम्बर्गिनी गाडी उपहार दिएका छन्।
र्यापर टिमुर इल्दारोविच युनुसोभ जसलाई तिमाटी भनेर चिनिन्छ, उनले छोरा रट्मिरलाई करौडौं पर्ने गाडी उपहार दिएका हुन्।
तिमाटीले छोरालाई गाडी उपहार दिएकाे भिडिओ यतिबेला सामाजिक संजालमा भाइरल छ। भिडिओमा र्यापरले छोरालाई सक्कली ल्याम्बर्गिनीसँगै ल्यामबर्गिनीको खलौना मोडल गाडी दिएका छन्।
छोरा रट्मिरले सानो खेलौना गाडीमा बसेर चलाएको भिडिओमा देख्न सकिन्छ।
भिडिओसँगै र्यापर तिमाटीले क्याप्सनमा लेखेका छन्, ‘एउटा यो गर्मी मौसमको लागि। अर्को ऊ ठूलो भएपछिको लागि।’
३७ वर्षीय र्यापरले छोरा छिट्टै ठूलो भएर लाइसेन्स लिएर साच्चिँकैको गाडी चलाउनेमा विश्वास राखेका छन्।
तर अहिलेका लागि भने छोराले खेलौना मोडल गाडी चलाएको भिडिओ तिमाटीले इन्स्टाग्राममा पोस्ट गरेका हुन्। भिडिओमा लाखौं भ्युज पुगेको छ। तिमाटीको इन्स्टाग्राममा मात्र १६.७ मिलियन फलोअर्स छन्।
निकै गाडी सौखिन तिमाटीको ७ वर्षीय छोरी अलिसा पनि छन्। छोराछोरी दुवै हुर्केपछि आफूसँग भएको गाडीहरू उनीहरूले चलाउन पाउने तिमाटी बताउँछन्।
त्यतिन्जेललाई भने उनी आफै मात्र गाडी चलाउने छन्। हालसालै छोराको लागि भनेर किनेको ल्यामबर्गिनी एभेन्टेडर एसभिजे पनि अब उनी आफै चलाउने छन्।