बलिउड अभिनेता रणवीर सिंहले ल्याम्बर्गिनी उरुस पर्ल क्याप्सुल एडिसन किनेका छन्। ल्यामबर्गिनी मुम्बईंले सोमबार गाडी रणवीरकै घरमा डेलिभर गरेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
रणवीर र उनकी श्रीमती अभिनेत्री दिपिका पादुकोण गत आइतबार राति बैङ्गालुरुबाट मुम्बईं फर्केका हुन्।
ल्याम्बर्गिनी उरुस पर्ल क्याप्सुल एडिसनभन्दा अघि रणवीरसँग रातो रंगको ल्याम्बर्गिनी उरुस समेत छ। जुन उनले सन् २०१९ को अन्तिम महिनातिर किनेका थिए।
त्यस्तै उनीसँग मर्सिडिज बेन्ज जिएलएस, एस्टन मार्टिन र्यापिड एस, रेन्ज रोवर भोग, औडी क्यू ५, ज्याग्वार एक्सजे एल र मारुती सुजुकी सिआज पनि छ।
रणवीरले किनेको नयाँ एडिसनको ल्याम्बर्गिनी उरुस पर्ल क्याप्सुलको सुरूवाती मूल्य भारू ३ करोड ४३ लाख तोकिएको छ।
गाडीको विशेषताका कारण पछिल्लो समय यो थुप्रै कलाकार र प्रख्यात व्यक्तिहरूको रोजाइमा परेको छ। गत महिना मात्रै अभिनेता कार्तिक आर्यनले ल्याम्बर्गिनी उरुस पर्ल क्याप्सुल एडिसन किनेका थिए। त्यस्तै यो गाडी अभिनेता रोहित सेट्टी, अदार पुनावाला र मुकेश अम्बानिसँग समेत रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
रणवीरको नयाँ गाडी सुन्तला रंगको छ। यो हेर्दा आकर्षक देखिन्छ। यसमा २२ इन्चको न्याथ ह्वील छ। साथै टायर २१ इन्चको हुन्छ।
ल्याम्बर्गिनी उरुस पर्ल क्याप्सुल एडिसनमा भी८ ट्विन(टर्बो इन्जिन जडित छ। जसले अधिकतम ६ सय ५० एचपीको पावर जेनेरेट गर्छ। गाडीमा विभिन्न सुरक्षाका सुविधा र टेक्नोलोजीहरू छन्। जस्तै यसमा वैकल्पिक पार्किङ सहायता प्याकेज छ। अत्याधुनिक इन्टेलिजेन्ट पार्क असिस्ट पनि रहेको छ।
यो गाडीको अधिकतम स्पीड ३ सय ५ किलोमिटर प्रति घण्टाको छ।
कोरोना महामारीका समयमा समेत ल्याम्बर्गिनीले जनवरीदेखि मार्च महिनाबीच १ हजार ३ सय ८२ युनिट उरुस एसयुभी विभिन्न ठाउँमा डेलिभर गरिसकेको हिन्दुस्तान टाइम्ले जनाएको छ।