बेलायतमा आपराधिक गतिविधिहरूका लागि विद्युतीय स्कुटरको प्रयोग बढेको छ। बेलायतमा विद्युतीय स्कुटरमा सवार व्यक्तिहरूद्वारा गरिएको अपराधको संख्यामा उल्लेखनीय वृद्धि भएको रिपोर्टले देखाएको न्युज च्यान्ट वेभसाइटले जनाएको छ।
संसारभर विद्युतीय स्कुटर र गाडीको निर्माणदेखि उपयोगिता बढिरहेको समय बेलायतमा समेत विद्युतीय सवारीको माग बढ्दो छ। मागसँगै अपराध पनि बढिरहेको हो।
विद्युतीय स्कुटरहरू चलाउन सहज हुन्छ। सडकको हरेक लेनमा अन्य सवारी चालकहरूले झैं ख्याल राखिरहनुपर्ने हुँदैन। त्यसैले प्रहरीहरूको गाडी र बाइकहरूबाट छल्न पनि सजिलो भएको अनुमान लगाइएको छ।
त्यस्तैमा बेलायमा विद्युतीय स्कुटरबाट पैदल यात्रुहरूको मोबाइल फोन, पर्स चोरेर फरार हुनेदेखि लागु औषधि ओसार(पसारमा समेत यी स्कुटरहरू प्रयोगमा आएको रिपोर्टले देखाएको हो।
एउटा घटनाको उदाहरणमा न्युज च्यान्टले लेखेको छ, 'गत वर्ष सेप्टेम्बरमा कोभेन्ट्री सबहर्बमा गोली प्रहार भएको थियो। जहाँ विद्युतीय स्कुटरबाट एक जनाले अडी कारमा भएको मान्छेलाई गोली हानेका थिए।'
बेलायतको डेली मेलको रिपोर्टअनुसार भने देशका मन्त्रीहरूलाई अब उक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिन र सम्भवतः विद्युतीय स्कुटरको प्रयोगलाई नियमित गर्न आग्रह गरिएको छ।
अर्कापट्टि सजिलो र छिटो आवतजावतका लागि प्रयोग हुने सवारी साधनका रूपमा लिइने विद्युतीय स्कुटरहरूबाट अपराधिक गतिविधिहरू भइरहँदा राज्यको पुलिस प्रशासन समेत असहाय भइरहेको तर्क राखिएको छ।
रिपोर्टहरूअनुसार बेलायतमा विद्युतीय सवारीको माग र प्रयोग बढिरहेको छ। केही विद्युतीय स्कुटरहरूले प्रति घण्टा ६० किलोमिटरको स्पीडसम्म गुड्ने क्षमता राखेको हुन्छ।
बेलायतमा विद्युतीय स्कुटर अपराधिक काममा प्रयोग बढेको भएता पनि त्यहाँ ठूलो जमातलाई विद्युतीय स्कुटरले आफ्नो यात्रा सहज बनाएको छ।