बेलायतमा ड्राइभर बिना चल्ने बसको परीक्षण हुँदैछ। विद्युतीय मोटर्सद्वारा संचालित औरिगो सट्टल बस सार्वजनिक सेवाको लागि परीक्षण गरिने भएको बिबिसले जनाएको छ। यो बसमा चालक हुँदैन। यो स्वचालित हो।
औरिगो सट्टल बस सुरूमा बेलायतको क्यमब्रिज सहरमा ३.२ किलोमिटरको रूटमा चल्नेछ। यो म्याडिङ्ग्ले पार्कदेखि पश्चिम क्याम्ब्रिज क्याम्पस र खगोल विज्ञानको संस्थाको सडकमा चलाइनेछ।
बिबिसीका अनुसार सुरूमा तीन वटा बस परीक्षण गरिनेछ। बसहरू जुन महिनामा परीक्षण गरिने बताइएको छ। यी बसहरूमा पूर्व-निर्धारित यात्रुहरूलाई मात्र चढाइनेछ। जसले औरिगो एप चलाएको हुनुपर्छ। एपमार्फत आफ्नो पिक-अप स्टेसन र ड्रप-अफ स्टेसन चयन गरी सेट गर्नुपर्छ। र, बसले त्यही अनुसार स्टेसनमा यात्रु चढाउने र ओराल्ने गर्छ।
चालक बिना चल्ने यी बसहरू प्रति घण्टा ३२ किलोमिटरसम्म चल्नेछ। र बसमा जम्मा १० जना यात्रु चढाइनेछ। बसमा प्रति घण्टा ४७ किलोवाटको ब्याट्री पावर क्षमता छ।
औरिगो सट्टल(बस कन्भेन्ट्रीमा आधारित इन्जिनियरिङ फर्म औरिगोले बनाएको हो। यी बसहरूले शहरी क्षेत्रलाई सफा राख्न र यातायात सेवामा सहजता थप्ने कम्पनीले विश्वास राखेको छ।
कम्पनीले आफ्नो वेभसाइटमार्फत यी बसहरू सिफ्टमा काम गर्ने कामदारहरूका लागि बढी उपयोगी हुनसक्ने र परम्परागत बसको तुलनामा श्रम लागत समेत घटाउन सक्ने दाबी गरेको छ।
सहरी क्षेत्रमा सँगै यी खालका बसहरू एरपोर्ट क्षेत्र र पर्यटन प्रयोजनका लागि पनि संचालन गर्न सकिन्छ।