बिएमडब्ल्युको विद्युतीय कार बिएमडब्यु आइएक्सको उत्पादन सुरू भएको छ।
कम्पनीले सन् २०२१ को नोभेम्बरसम्ममा यो विद्युतीय कार अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको अमेरिकी टेक्नोलोजी न्युज वेभसाइट 'द भर्ज' ले जनाएको छ।
गाडी तथा मोटरसाइकल उत्पादन कम्पनी बिएमडब्ल्युले केही महिना अघि नै आइएक्स इभी सार्वजनिक गर्ने घोषणा गरेको हो। अब भने आइएक्सको उत्पादन काम सुरू भएको छ। आइएक्स बिएमडब्ल्युको स्पोर्टस एक्टिभिटी भेहिकल (एसएभी) हो। जसको बाहिरी आवरण निकै बलियो र सान्दार छ।
बिएमडब्ल्यु आइएक्स दुई भेरियन्टमा उपलब्ध हुनेछ (बिएमडब्ल्यु आइएक्स एक्सड्राइभ ५० र एक्सड्राइभ ४०दुवै भेरियन्टमा विद्युतीय ह्वील-ड्राइभ प्रणाली हुनेछ।
बिएमडब्ल्यु आइएक्स एक्सड्राइभ ४०मा ६ सय ३० एनएमको टर्क जेनेरेट हुनेछ। प्रति घण्टाको दरले यसको रफ्तार ० देखि १०० पुग्न जम्मा ६.१ सेकेन्ड लाग्नेछ। बिएमडब्ल्यु आइएक्स एक्सड्राइभ ५० मा भने ७ सय ६५ एनएमको टर्क जेनेरेट हुनेछ। यसको रफ्तार ० देखि १०० पुग्न जम्मा ४.६ सेकेन्ड लाग्नेछ।
एक पटकको ब्याट्री चार्जमा आइएक्स एक्सड्राइभ ५०ले ६ सय ३० किलोमिटरसम्मको माइलेज दिन्छ भने आइएक्स एक्सड्राइभ ४० ले एक पटकको ब्याट्री सेल चार्जमा ४ सय २५ किलोमिटरसम्मको माइलेज दिनेछ।
कम्पनीले दुवै कारमा थुप्रै पृथक विशेषताहरू समावेश गरेको बताएको छ। यसमा भएको डिस्प्ले र अपरेटिङ सिस्टम निकै भिन्न छ। यसमा कर्भ आकारको १२.३ इन्चको डिजिटल डिस्प्ले छ।
जसले चालकलाई गाडी चलाउन सहज बनाउनुका साथै मनोरञ्जन पनि प्रदान गर्नेछ। यी बाहेक गाडीमा बिएमडब्ल्युको इन्टेलिजेन्ट पर्सनल असिस्टेन पनि हुनेछ।
कम्पनीले दावी गरेअनुसार यी कारहरू आरामदायी छन्। त्यस्तै यसमा स्पोर्टी गाडीमा हुने जस्तै विशेषताहरू पनि समावेश गरिएको छ।
आइएक्सको भेरियन्टहरूको सुरुवाती मूल्य ८० हजार अमेरिकी डलरबाट सुरू हुने बताइएको छ।