टेस्लाले आफ्नो मोडल 'एस प्लेड प्लस'को उत्पादन रोक्ने भएको छ। टेस्लाका सिइओ इलोन मस्कले आइतबार एक ट्विटमार्फत सो जानकारी सार्वजनिक गरेका हुन्।
कम्पनीले टेस्लाको एस प्लेड प्लस संसारको विद्युतीय गाडीमध्ये सबैभन्दा बढी माइलेज दिने कार भएको दाबी गरेको थियो। एस प्लेड प्लस टेस्लाको विद्युतीय गाडीको प्लेड संस्करणको लामो दूरी दायरा भएको गाडी हो।
सिएनबिसीको वेभसाइटअनुसार केही समयअघि टेस्ला र मस्क दुवैले आफ्नो उपभोक्तालाई नयाँ मोडल एसको ट्राइ(मोटोर, प्लेड प्लस भर्जन सार्वजनिक गर्ने बताएको थियो। जसले १ हजार १ सय हर्सपावर जेनेरेट गर्नेछ भने पूरा ब्याट्री चार्जमा ५ सय २० माइल्सको माइलेज दिने भनिएको थियो।
यी संस्करणहरूमा दुई सेकेन्डभन्दा कम समयमा ० देखि ६० किलोमिटरको स्पीडमा गुड्न सक्ने फिचर रहेको समेत उल्लेख गरिएको थियो।
टेस्लाको एस प्लेड संस्करणले एक पटकको चार्जमा करिब ८ सय ३६ किलोमिटरको माइलेज दिने बताइएको थियो। यसको अनावरण गत वर्ष टेस्लाको ब्याट्री(डेको दिन गरिएको थियो। यसको उत्पादन सन् २०२१ मै सुरू गर्ने भनिएको थियो। तर पछि सन् २०२२ बाट मात्र सुरू हुने भनियो।
तर आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले ट्विटमा प्लेड प्लसकोको उत्पादन रोकिएको जनाएका हुन्। उनले ट्विटमा लेखेका छन्, 'प्लेड प्लस रद्द गरिएको छ। यसको आवश्यकता छैन, किनभने प्लेड नै यति राम्रो छ।' ट्विटमा मस्कको ५० मिलियनभन्दा बढी फलोअर्स छन्।
गत महिना टेस्लाको एस प्लेड प्लस मोडल उत्पादन नभएपनि यसको एस प्लेड मोडल भने यहीँ जुन १० गतेदेखि ग्राहकहरूसम्म पुर्याउने योजना बनाएको कम्पनीले जनाएको थियो।
सिइओ मस्कले भनेका थिए, 'एस प्लेड मोडल अहिलेसम्म बनेको कुनै पनि प्रकारको कारमध्ये द्रुत स्पीड भएको कार हो।' कम्पनीले बताएअनुसार यसको उत्पादन पनि छोटो समयमै हुनेछ।
टेस्लाको मोडल एस प्लेडले यसको मोडल एसलाई प्रतिस्थापन गर्नेछ। सिइओ मस्कले ग्राहकहरूलाई विल्कुल नयाँ अनुभव दिलाउने दाबी गरेका छन्।
मोडल एस प्लेडको टप स्पीड प्रति घण्टाको ३ सय २१ किलोमिटर हुनेछ। त्यस्तै यसले एक पटकको ब्याट्री चार्जमा ६ सय २७ किलोमिटरको माइलेज दिने बताइएको छ।