रोयल इन्फिल्डले आर्थिक वर्ष सन् २०२१/२०२२ मा नयाँ मोडलका बाइकहरू सार्वजनिक गर्ने भएको छ।
कम्पनीले भारत र अन्य देशहरूमा समेत गरी थुप्रै मोडलका बाइकहरू सार्वजनिक गर्दै आफ्नो पकड बलियो पार्ने योजना बनाएको अटो हिन्दुस्तानले लेखेको छ।
अटो हिन्दुस्तानका अनुसार सन् २०२२ मा रोयल इन्फिल्डले सबैभन्दा बढी मोडलको बाइक सार्वजनिक गर्ने भएको हो।
कम्पनीका सिइओ विनोद दसारीले केहि समयअघि विश्लेषकहरूसँग कुराकानीमा भनेका छन्, ‘हामीसँग पाइपलाइनमा निकै रोमाञ्चक मोडलहरू छन्। यो वर्ष सम्भवतः नयाँ मोडलहरू सबैभन्दा बढी संख्यामा देखिनेछ। र, यो पाइपलाइनको सुरुवात मात्र हो।’
'हामी प्रत्येक त्रैमासिकमा नयाँ मोडल सार्वजनिक गर्नेछौं। किनभने कोरोना महामारीका कारण योजनाअनुसार बाइक सार्वजनिक गर्न सकेनौं', उनले थप भनेका छन्, 'यही वर्ष सबै मोडल बजारमा ल्याउन नसकेपनि हाम्रो राम्रा र ठूला मोडलहरू भने सार्वजनिक गर्नेछौं।' उनले कुन–कुन मोडलहरू सार्वजनिक गर्नेबारे भने अहिलेसम्म बताएका छैनन्।'
तर यसको क्लासिक ३५० र मिडलवेटका क्रुसरहरूको नयाँ मोडल सार्वजनिक हुने अनुमान लगाउन सकिन्छ।
नेपालमा पनि रोयल इन्फिल्डको छुट्टै ‘क्रेज’ छ। हेर्दै ‘क्लासिक’ देखिने यो बाइकको बजार चुलिँदो छ। रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सका अनुसार युवा पुस्तादेखि वयस्कहरूको रोजाइमा इन्फिल्ड बाइकको माग राम्रो छ।
यतिबेला नेपाली बजारमा रोयल इनफिल्डका ८ मोडल उपलब्ध छन्। नयाँ मोडलहरू सबै पनि नेपाली बजार प्रवेश गर्छन् वा गर्दैनन् भन्ने अहिले भन्न सकिन्न।