विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तः शुल्क घटेसँगै नेपालमा विद्युतीय सवारीप्रति मान्छेको चासो बढिरहेको छ। विभिन्न ब्रान्डका कम्पनी आफ्नो विद्युतीय मोडलहरूको शुल्क घटाइरहेका छन् भने नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारीमा छन्।
यस्तैमा नेपाली बजार टाटाको नेक्सन एसयुभी विद्युतीय गाडी पनि प्रतिक्षित गाडी हो। भारतीय बजारमा यो सन् २०२० को जनवरीमा नै सार्वजनिक भएको हो।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अघिल्लो वर्ष नै नेक्सन विद्युतीय गाडी नेपाल ल्याउने तयारी गरेको थियो। तर अझैसम्म सार्वजनिक भएको छैन। सम्भवतः यो आउदो दशैंसम्ममा सार्वजनिक हुन सक्ने अनुमान भने लगाउन सकिन्छ। तर कम्पनीले भने यसबारे आधिकारिक जानकारी दिएको छैन।
नेक्सन विद्युतीय गाडीमा भएको विशेषताका कारण यो एसयुभीले प्रख्यातता कमाइरहेको छ। भारतमा टाटा नेक्सन विद्युतीय गाडी तीन भेरियन्ट-एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरीमा बिक्री हुँदैछ।
टाटा नेक्सन विद्युतीय गाडी पूर्ण रूपमा सुरक्षित छ। यसमा आइपी६७ सर्टिफाइड लिक्विड कुल्ड ब्याट्री प्याक र मोटर छ। त्यस्तै यसमा भएको इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्युसन सिस्टम र कर्नरिङ स्टेबिलिटी कन्ट्रोलसँगै एन्टी ब्रेकिङ सिस्टमले गाडीको ब्रेकिङ सिस्टम स्मुथ बनाउछ।
यो एसयुभीमा २ सय ५ एमएमको ग्राउन्ड क्लियरेन्स छ। जसले गर्दा हामीलाई कच्चि बाटोमा पनि गाडी भुँई नछुवाइ चलाउन सजिलो हुन्छ।
यो एसयुभीलाई ०.६० किलोमिटरमा पुग्न जम्मा ४.६ सेकेन्ड लाग्छ। यो प्रति घण्टाको हिसाबमा हो। गाडीले २ सय ४५ एनएमको टर्क जेनेरेट गर्छ। त्यस्तै टाटा नेक्सन इभीको आन्तरिक र बाहिरी लुक्स पनि सानदार छ।
भारतमा नेक्सन विद्युतीय गाडीकाे सुरुवाती मूल्य १३ लाख ९९ हजार भारु तोकिएको छ। नेपालमा भने हालसम्म यसको अनुमानित मूल्य पनि सार्वजनिक भएको छैन।