यातायात क्षेत्रका श्रमिकहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक यातायात क्षेत्रका सबै श्रमिकहरुलाई खोपको अनिवार्य व्यवस्था गर्न माग गरेको छ।
यातायात श्रमिकहरुको कार्यथलो आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएकाले निषेधाज्ञा खुल्नु अगाबै सबै श्रमिकहरुलाई खोपको व्यवस्था गर्न संगठनले स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
त्यस्तै, संगठनले कोभिड संक्रमित यातायात व्यवसायी तथा श्रमिकहरुको निःशुल्क उपचार व्यवस्था मिलाउन आग्रह गरेको छ।
इन्धन ढुवानी गर्ने ट्यांकर, खाद्यान्न ढुवानी गर्ने सवारी, अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी, एम्बुलेन्स लगायत सवारी साधनमा काम गर्ने श्रमिकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका छन्। अत्यावश्यक सेवामा खटिएका यातायात मजदुरहरुलाई तत्काल खोपको व्यवस्था गर्नुपर्नेमा उनीहरुको जोड छ।
संघले कोरोना संक्रमणका कारण मृत्यू भएका यातायात श्रमिकका आश्रित परिवारलाई राहतको व्यवस्था मिलाउन समेत जोड दिएको छ।
‘मृतकका छोराछोरीको शिक्षा र स्वास्थ्यका लागि निश्चित कोषको व्यवस्था गरियोस्,’ ज्ञापन पत्रमा भनिएको छ।