प्रख्यात अटोमोबाइल कम्पनी सुजुकीले दुई पाङ्ग्रेमा नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले छिट्टै बर्गमन स्ट्रिट २०० सार्वजनिक गर्ने भएको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।
अटो हिन्दुस्तानका अनुसार कम्पनीले सुजुकी बर्गमन स्ट्रिट २०० ग्लोबल बजारका लागि सार्वजनिक गरेको हो। नयाँ मोडल अपडेटहरूका साथै कम्पनीले यो स्कुटरमा नयाँ रंगको विकल्पहरू पनि दिने बताएको छ।
झन्डै ३ वर्षअघि सार्वजनिक १२५ सिसीको बर्गमन पर्ल ह्वाइट, न्यू टाइटन ब्ल्याक र म्याट स्टेलर ब्लुमा उपलब्ध छ। तर सन् २०२२ मा सार्वजनिक हुन लागेको बर्गमनमा भने यीभन्दा बढी रंग विकल्प हुने बताइएको हो।
बर्गमन स्ट्रिट २०० म्याक्सी स्कुटर हो। यसको अगाडिको भागमा ठूलो विन्डस्क्रिन पनि छ। जसले हावालाई छेक्न मद्दत पुग्नेछ। यसमा उठेको फुटबोर्ड छ भने प्याडेड स्टेप–सीट छ। जसले गर्दा स्कुटरमा खुट्टा राख्न र बस्न सजिलो गराउनेछ। स्कुटरमा ४१ लिटरको बुट स्पेस हुनेछ। त्यसले गर्दा एकै पटकमा डिकीमा धेरै सामान अटाउन सकिन्छ। स्कुटरमा मोबाइल चार्ज पनि गर्न सकिल्छ।
स्कुटरको अगाडिको टायर १२ इन्चको र पछाडिको १२ इन्चको छ। यसमा ट्युबलेस टायरको प्रयोग भएको छ। त्यस्तै स्कुटरमा २ सय ४० एमएमको डिस्क ब्रेक छ भने सुरक्षाको लागि डुअल च्यानल एबिएस समेत छ।
बर्गमन स्ट्रिट २००मा फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड र २०० सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ। अटो हिन्दुस्तानका अनुसार यो स्कुटरको सम्पूर्ण विवरण र विशेषताहरू भने सार्वजनिक हुन बाँकी नै छ।
बर्गमन स्ट्रिट २०० को सुरूवाती मूल्य भारतीय ३ लाख ६६ हजारसम्म हुने अनुमान लगाइएको छ।