दोस्रो चरणको निषेधाज्ञाका कारण लामो समयदेखि काम ठप्प हुँदा समेत यातायात क्षेत्रका श्रमिकहरुले सरकारबाट कुनै राहत नपाएको गुनासो गरेका छन्।
यातायात क्षेत्रका ११ लाख श्रमिकहरु रोगको महामारीसँगै भोकको चपेटामा परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईले बताए।
‘दोस्रो पटकको लकडाउनमा सरकारले अघिल्लो पटकको लकडाउनको कमजोरीलाई सुधार्छ होला भन्ने थियो तर यसपटक पनि सुधारेन। सरकारले बेवास्ता गर्दा अहिले यातायात क्षेत्रका श्रमिक रोग र भोक दुवैसँग लडिरहेका छन्। उनीहरुको परिवार पनि समस्यामा छन्,’ उनले सेतोपाटीसँग भने।
यातायात श्रमिकहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गरी अब काम गर्ने वातावरण मिलाउनु पर्नेमा उनले जोड दिए।
उनीहरुले अग्रपंतिमा खटिएर काम गर्नुपर्छ। यो निषेधाज्ञाकै अवधिमा हामी सबैलाई खोपको व्यवस्था गरेर यातायात क्षेत्र सुचारु गरियोस्,’ उनले भने।
पहुँचवालाले खोप पाइरहँदा अग्रपंतिमा खटिएर काम गर्नुपर्ने यातायात क्षेत्रका श्रमिकहरुलाई सरकारले बेवास्ता गरेको बताइएको छ।
‘सरकारको बेवास्ताले यातायात क्षेत्रका ठूलो संख्यामा श्रमिकहरुले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ। हाम्रो संघको सदस्यहरु मात्रै २७ जनाको ज्यान गइसकेको छ। ५ सय ११ जना संक्रमित हुनुहुन्छ,’ उनी प्रश्न गर्छन्, ‘देशभरका यातायात श्रमिकहरुको अवस्था के होला?’
अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्की पनि सरकारले अग्रपंतिमा खटिएर काम गर्ने सार्वजनिक सवारी क्षेत्रका श्रमिकहरुलाई खोपको व्यवस्था गरेर सवारी सञ्चालन गर्न दिनुपर्ने बताउँछन्।
‘निषेधाज्ञा धेरै नतन्काउँ श्रमिक भोकले मर्न लागे। लकडाउन मात्रै कोरोना नियन्त्रणको विकल्प होइन। स्वास्थ्य मापदण्ड पालना गरेर अब सवारी साधन खोल्नुपर्छ,’ उनले भने।
नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारी योपटक सहरी क्षेत्रमा रहेका यातायात श्रमिकहरु समस्यामा परेको बताउँछन्।
‘अघिल्लो पटक अचानक लकडाउन गर्दा श्रमिकहरु आफ्नो गाउँ फर्कन पाएका थिएनन्। योपटक अगाडि नै खबर गरिदिएकाले धेरैजसो गाउँ फर्किँए। गाउँ फर्किने त गिठ्ठा भ्याकुर खाएर भए पनि बसेका छन्,’ उनी भन्छन्, ‘तर गाउँ फर्किने अवस्था पनि नभएकाहरु सहरमै भोक र रोगको चपेटामा छन्। यस्तो अवस्थामा पनि सरकारले राहत उपलब्ध गराएन।’