कहिलेकाहीँ हतारमा गाडी चालक आफ्नै ध्यानमा हुन्छ। चालकले गाडी पछाडि कोही बच्चा वा पेट (घरपालुवा जनावर) राखेको छ भने पनि भुल्न सक्छ। तर अब यो समस्याको समाधान फोर्ड मोटर कम्पनीले गर्दैछ।
अटो हिन्दुस्तानका अनुसार फोर्डले नयाँ प्रविधि विकास गरेको छ। जसले गाडीको पछाडि पनि कोही छ है भन्ने सन्देश दिन्छ।
युरोपमा हालै विकास भएको ‘रिअर अक्युप्यान्ट अलर्ट’ प्रविधिले चालकलाई गाडी पछाडि यात्रु भएको र उनको लागि पछाडिको ढोका खोल्न सन्देश दिने हो।
यो प्रविधि गाडी रोकिएर इन्जिन बन्द गरेपछि सक्रिय हुन्छ। गाडी स्टार्ट अफ गरेपछि गाडीको बीचमा भएको डिस्प्लेमा चेतावनी देखाउँछ। यो चेतावनी डिस्प्लेमा १० सेकेन्डसम्म अथवा चालकले रद्द नगरेसम्म देखाउँछ। डिस्प्लेमा चेतावनी देखाएको केही समयमा फेरि श्रव्य चेतावनी आउँछ।
‘रिअर अक्युप्यान्ट अलर्ट’ले चालकलाई आफ्नो सामग्री जस्तै, ल्यापटप र ह्यान्डब्याग पनि सँगै लैजान भन्दै चेतावनी दिने कम्पनीको भनाइ छ।
फोर्ड युरोपका कार्यकारी निर्दशक एवम् इन्जिनियर जोर्ज बेयरले भनेका छन्, ‘यो प्रविधिले गाडी चालकलाई आफूले कहिल्यै बिर्सिदिन भन्ने लाग्ने कुरा बिर्सनबाट याद दिलाउँछ।’
गर्मी मौसममा बच्चा र जनावर गाडी भित्र छुट्दा अझ बढी खतरा हुन्छ। किनभने गाडी भित्रको गर्मी असह्य हुन्छ। यस्तोमा हाइपरथर्मिया (अत्याधिक गर्मीले निम्त्याउने स्थिति)का कारण मृत्युदर बढ्छ।
‘किड्सएन्डकार’ नामक एक वकालत समूहका अनुसार वयस्कको शरीरको तुलनामा बच्चाहरूको शरीर तीनदेखि पाँच गुणा छिटो तात्छ।