भारतीय साइकल प्रमुख हिरो साइकल्सले युरोपमा पहिलो पटक 'मेड-इन- इन्डिया'को विद्युतीय साइकल निर्यात गरेको छ।
हिरो साइकल्स हिरो मोटर्स कम्पनी (एचएमसी) ग्रुपको एक हिस्सा हो। कम्पनीले सफलतापूर्वक युरोपको जर्मनीमा झन्डै २ सय युनिट विद्युतीय साइकल पुर्याएको अटो हिन्दुस्तानले जनाएको छ।
कम्पनीले युरोपियन युनियन बजारमा आफ्नो उत्पादन शीर्ष स्थान पुर्याउने लक्ष्य र योजना बनाएको छ। कम्पनीले बताएअनुसार यसले सन् २०२५ साल सम्ममा कुल ३ सय मिलियन युरोको राजस्व लिने लक्ष्य राखेको छ।
कम्पनीले हिरो इन्टरनेसनलको एचएनएफ ब्रान्ड अन्तर्गत विद्युतीय साइकल निर्यात गरेको हो।
'यो ढुवानीसँगै कम्पनीलाई युरोपमा सबैभन्दा ठूलो र एकिकृत विद्युतीय बाइक कम्पनीको रूपमा स्थापित गर्न एक कदम अगाडि बढेको संकेत दिएको छ', कम्पनीले भनेका छन्।
कम्पनीले सन् २०३० सम्ममा युरोपमा विद्युतीय साइकल १५ मिलियन युनिटसम्म पुग्ने आशा राखेको छ। र यसैले सो क्षेत्रको बजारमा हिरोले शीर्ष स्थान पाउने आशा गरिएको हो।
'हामी एचएनएफको इन्जिनियरिङ र विशेष डिजाइन एक्सपर्टहरूसँग मिलेर उच्च(गुणस्तरको विद्युतीय साइकल बनाउने छौं', हिरो इन्टरनेसनलका लन्डनस्थित सिइओ जेफ वेसले भने।
उनका अनुसार कोरोना महामारीपछि युरोपमा विद्युतीय सवारीको माग बढ्दो छ। हिरोले डिजिटल सप्लाई चेन कम्पनी 'हिरो स्पलाई चेन' पनि सञ्चालन गरेको छ। जसले युरोपको बजारमा बाइक र विद्युतीय बाइकको मागलाई व्यवस्थत गर्न मद्दत गर्नेछ।
यतिबेला हिरो साइकलसँग वार्षिक ६ मिलियन साइकल निर्माण गर्ने क्षमता छ।