टाटा मोटर्सले सन् २०२५ सम्ममा १० वटा नयाँ मोडलको विद्युतीय गाडी सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले यो सुरूमा आन्तरिक बजार लक्षित गरी सार्वजनिक गर्ने भएको अटो हिन्दुस्तानले जनाएको हो।
कम्पनीका अध्यक्ष एन चन्द्रसेकरनका अनुसार यो कदमसँगै व्यापार मोडेललाई दिगो बनाउने लक्ष्य कम्पनीले राखेको छ।
टाटा मोटर्सले भारतसँगै युरोपमा सेल र ब्याट्री निर्माणका लागि पनि सम्बन्ध विस्तार गरिरहेको छ। जसले कम्पनीको पोर्टफोलियो बलियो बनाउने छ। टाटा मोटर्स भारतीय मल्टिनेसनल अटोमोबाइल निर्माण कम्पनी हो।
कम्पनीको पोर्टफोलियोमा विद्युतीय गाडीको प्रवेश यो वर्ष दुई गुणाले बढेको छ। कम्पनीले नेक्सन विद्युतीय कारको ४ हजार युनिट बिक्री गरेको छ।
‘हामीले अबका वर्षहरूमा कम्पनीको पोर्टफोलियो तीव्र गतिमा बढ्ने आशा राखेका छौं। टाटा मोटर्सले भारतीय बजारमा यो परिवर्तनको नेतृत्व गर्नेछ,’ अध्यक्ष चन्द्रसेकरनले कम्पनीको सन् २०२१–२०२१ को वार्षिक रिपोर्टमा भनेका छन्।’
‘सन् २०२५ सम्ममा टाटा मोटर्सको १० वटा नयाँ बिइभी (ब्याट्री विद्युतीय गाडी) सार्वजनिक हुनेछ। हामी यसमा ठूलो लगानी गर्नेछौ।’
कम्पनीले उपभोक्ताको व्यवहारमा आएका परिवर्तनलाई ध्यानमा राख्दै उत्पादनलाई निरन्तरता दिने बताएको छ।
त्यस्तै यता बेलायती अटोमोबाइल कम्पनी ज्याग्वार ल्यान्ड रोभर ब्रान्डले पनि सन् २०३० सम्ममा आफ्नो उत्पादन पूर्ण हिसाबले विद्युतीय बनाउने लक्ष्य राखेको छ।
टाटाका अध्यक्ष चन्द्रसेकरनले विद्युतीय सवारी निर्माणको प्रसंग वातावरण र जलवायुसँग सम्बन्धित रहेको बताएका छन्।
‘यी समस्यालाई सम्बोधन गर्न पनि हामीले दीगो व्यापार मोडालिटीलाई हाम्रो रणनितीको आधार बनाउने योजनामा छौं,’ उनले भने।
टाटा मोटर्सका सवारी साधनले भारतमा मात्र होइन नेपालमा पनि उत्तिकै लोकप्रियता कमाएको छ। नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदीले हो। कम्पनीले छिट्टै नयाँ मोडलको विद्युतीय गाडी सार्वजनिक गर्दैछ।